विराटनगर ७ जेठ । मुलुकका विभिन्न आठ वटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि २१८ जनाको आवेदन परेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सबैभन्दा धेरै आवेदन त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि परेको छ । मन्त्रालयले बुधबार आवेदकको नामावली सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै आवेदन त्रिभुवन विश्वविद्यालयका लागि परेको छ, जहाँ ५० जनाले इच्छा देखाएका छन् । यसै गरी पूर्वाञ्चल र पोखरा विश्वविद्यालयका लागि समान ३८र३८ जनाको आवेदन परेको छ ।
राजर्षि जनक विश्वविद्यालयका लागि २७, मध्यपश्चिम विश्वविद्यालयका लागि २० र सुदूरपश्चिम विश्वविद्यालयका लागि १९ जनाको आवेदन दर्ता भएको मन्त्रालयले जनाएको छ । त्यस्तै कृषि तथा वनविज्ञान विश्वविद्यालयका लागि १५ र लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति बन्न ११ जनाले आवेदन दिएका छन् ।
अध्यादेशमार्फत साबिकका उपकुलपति तथा अन्य पदाधिकारी पदमुक्त भएपछि सरकारले उपकुलपति नियुक्तिका लागि नयाँ प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपति चयनका लागि खुला आह्वान गरेको थियो ।
उपकुलपति छनोट प्रक्रिया पारदर्शी बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको छ ।
समितिले अब विज्ञ उपसमिति बनाएर उम्मेदवारको मूल्याङ्कन गर्ने छ । प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले सम्बन्धित विश्वविद्यालयको सुधार, अनुसन्धान विस्तार, प्रशासनिक सुधार र शैक्षिक गुणस्तर वृद्धिका विषय समेटिएको पाँच हजार शब्दको रणनीतिक दृष्टिपत्र (भिजन पेपर) र कार्ययोजना (एक्सन प्लान) बुझाउनुपर्ने छ ।