विराटनगर १ जेठ । विराटनगर मोरङको मिक्लाजुङ गाउँपालिकाले अपांगता भएका व्यक्तिहरुका लागि सोमबारदेखि १५ दिने सीपमूलक तथा व्यवसायिक तालिम सञ्चालन शुरु गरेको छ ।
आर्थिक वर्ष २०८२-८३ को अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत सीपमूलक तथा व्यवसायक तालिम सञ्चालन गरेको मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतमले बताउनु भयो ।
प्रशिक्षक तुलसादेवी गुरागाईंले जुत्ता चप्पल, झोला, टोपी लगायतका सामान बनाउन सिकाउने र उहाँहरुले उत्पादन गरेका सामग्री पनि आफैंले खरिद गर्ने भएकाले बजारीकरणका लागि कुनै समस्या नभएको बताउनु भयो ।
गाउँपालिकाको कार्यालयमा आयोजित तालिममा उन तथा उनजन्य वस्तुको उत्पादन र बजारीकरण कसरी गर्न सकिन्छ भनेर स्थानीय अपांगता भएका व्यक्तिहरुलाई प्रशिक्षण दिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय तेजिन्द्र गौतमले तालिमले अपांगता भएका नागरिकलाई आत्मनिर्भर बन्न तथा स्वरोजगार सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । सहभागीहरूले पनि यस्ता तालिमले भविष्यमा आयआर्जनको राम्रो अवसर सिर्जना गर्ने बताएका छन् ।
तालिममा मिक्लाजुङका ९ वटै वडाबाट १८ जनाको सहभागिता रहेको महिला तथा बालबालिका शाखा प्रमुख कल्पना घिसिङले जानकारी दिनुभयो ।
