भारतको जोगवनी हुँदै विराटनगर नाका भएर नेपाल प्रवेश गर्ने सबैले अनिवार्य परिचयपत्र देखाउनुपर्ने

विराटनगर २६ वैशाख । भारतको जोगवनी हुँदै विराटनगर नाका भएर नेपाल प्रवेश गर्ने सबैले अबदेखि अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ । सीमा सुरक्षालाई मजबुत बनाउन र अवैध गतिविधि तथा तस्करी नियन्त्रण गर्ने उद्देश्यसहित सुरक्षा निकायले सीमा क्षेत्रमा कडाइ गरेका हुन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले शनिबार जोगवनी–विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । अनुगमनका क्रममा उहाँले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येकले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनुपर्ने स्पष्ट निर्देशन दिएका हुन् । प्रशासनको यो कदमसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा माइकिङ गर्दै परिचयपत्र अनिवार्य गरिएको जानकारी सर्वसाधारणलाई दिइरहेका छन् ।

भारतीय भूमिबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूले आधार कार्ड, नागरिकता वा अन्य मान्य परिचयपत्र देखाउनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताउनुभयो । उहाँका अनुसार सीमा नाकामा बढ्दो आवागमन र अवैध कारोबारको जोखिमलाई मध्यनजर गर्दै निगरानी बढाएको हो । विशेषगरी जोगवनी नाका हुँदै दैनिक सयौंको संख्यामा सर्वसाधारण किनमेल, रोजगारी तथा अन्य कामका लागि नेपाल–भारत ओहोरदोहोर गर्ने भएकाले कडाइ आवश्यक भएको प्रजिअ कटेलको भनाइ छ । जोगवनी नेपाली उपभोक्तामाझ सस्तो बजारका रूपमा परिचित छ ।

विराटनगर मात्र नभई इटहरी, तरहरा, धरान, पथरी, सुन्दरहरैँचा, उर्लाबारीलगायत आसपासका क्षेत्रका बासिन्दा दैनिक उपभोग्य सामग्री खरिदका लागि जोगवनी पुग्ने गरेका छन् । तर, यही ठूलो आवागमनलाई केही समूहले तस्करी तथा अवैध सामान ओसारपसारको महत्वपूर्ण अवसरका रूपमा लिने गरेको आरोप लाग्दै आएको छ । सुरक्षा निकायका अनुसार खुला सीमाका कारण अवैध आवतजावत तथा सामान ओसारपसारलाई पूर्ण रूपमा रोक्न चुनौतीपूर्ण छ । केही समयअघि प्रमुख जिल्ला अधिकारी कटेल स्वयंले सीमाक्षेत्रमा रहेका होटल तथा पसलहरूको अनुगमन गरेका थिए ।

सो क्रममा केही संरचनागत कमजोरी र सुरक्षामा जोखिम देखिएपछि उनले सीमा क्षेत्रमा रहेका खुला झ्याल तथा बाटोहरू बन्द गर्न निर्देशन दिएका थिए । सीमा क्षेत्रबाट भारततर्फ सजिलै आवतजावत हुने अवस्थाले सुरक्षा चुनौती बढाएको निष्कर्ष प्रशासनले निकालेको छ ।

सशस्त्र प्रहरी बलका अनुसार पछिल्लो समय एउटै व्यक्ति दिनमै तीन–चार पटकसम्म सीमाबाट ओहोरदोहोर गर्ने प्रवृत्ति देखिएको छ । यस्तो गतिविधिलाई शंकास्पद मान्दै उनीहरूलाई विशेष निगरानीमा राखिएको छ ।

विशेषगरी उपभोक्ता सामान खरिदका नाममा ठूलो मात्रामा सामान ओसारपसार गर्ने सम्भावनालाई रोक्न कडाइ गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।