कोशी प्रदेशमा आत्महत्याको प्रयास गर्ने किशोरकिशोरीको संख्या बढी

विराटनगर २४ वैशाख । कोशी प्रदेशमा आत्महत्याको प्रयास गर्ने किशोर किशोरीको संख्या अधिक रहेको पाईएको छ । एक वर्षको अवधिमा करिव ४ प्रतिशत किशोरकिशोरीले आत्महत्याको प्रयास गर्ने गरेको पाईएको छ ।

तथ्याङ्क समन्वय कार्यालय मोरङले आज कोशी प्रदेशका महिला तथा बालबालिकाको विद्यमान स्थितिबारे प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाको उपस्थितिमा राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक सन्ध्या केसी र शिव श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सार्वजनिक गरिएको प्रतिवेदन अनुसार सर्वेक्षण अघिको २ हप्तामा डिप्रेसन वा चिन्ताका लक्षण अनुभव भएका १५–२४ वर्ष उमेर समूहका किशोरकिशोरी नेपालमा ९.३ र कोशी प्रदेशमा १२.५ प्रतिशत रहेको बताईएको छ । नेपालमा १५–२४ वर्ष उमेर समूहका १.८ प्रतिशत किशोरकिशोरीले सर्वेक्षण अघिको २ हप्तामा आत्महत्याको सोच आएको बताएका छन् भने कोशी प्रदेशमा यस्तो प्रतिशत २.४ रहेको छ । यसैगरी, सर्वेक्षण अघिको १२ महिनामा आत्महत्याको प्रयास गरेका १५–२४ वर्ष उमेर समूहका किशोरकिशोरीको प्रतिशत नेपालमा २.५ र कोशी प्रदेशमा ४.१ रहेको प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षणमा तथ्याङ्क सङ्कलनको लागि नेपालभर ५४० क्लष्टर (गणना क्षेत्र) हरूमध्ये शहरी क्षेत्रबाट ३०४ क्लष्टर र ग्रामीण क्षेत्रबाट २३६ क्लष्टर तथ्याङ्कीय विधिबाट छनौट गरी हरेक क्लष्टरबाट गणनाको लागि २४ ओटा घरपरिवारहरू छानिएको थिए । यसरी छानिएका जम्मा १२ हजार ९६० घरपरिवारहरूबाट पारिवारिक विवरण सङ्कलन गरिएको थियो जसमा प्रत्येक घरपरिवारमा भएका १५–४९ वर्ष उमेर समूहका महिला, १५–४९ वर्ष उमेर समूहका पुरुष, ५–१७ वर्ष उमेर समूहका बालबालिका तथा ५ वर्षमुनिका बालबालिकाहरूको विवरण सङ्कलन गर्नुका साथै बाल पोषणको स्थिति अवगत गर्नका लागि तौल तथा उचाई पनि मापन गरिएको थियो ।

पहिलो पटक १५–२४ वर्ष उमेर समूहका किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी विवरणसमेत सङ्कलन गरिएको कार्यक्रममा तथ्याङ्क समन्वय कार्यालय मोरङका प्रमुख सुवास अधिकारीले बताउनुभयो । प्रदेशअनुसार नवजात शिशु मृत्युदर सवैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा प्रति एक हजार जन्ममा २६ जना र सवैभन्दा कम बागमती प्रदेशमा १० जना रहेको छ । कोशी प्रदेशमा नवजात शिशु मृत्युदर, शिशु मृत्युदर तथा पाँच वर्षमुनिको बालमृत्यु दर क्रमशः प्रति एक हजार जिवित जन्ममा १४, २४ र ३० रहेको छ । ५ वर्षमुनिका बालबालिकाको पोषण स्थितिका सन्दर्भमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उमेर अनुसारको तौल कमी भएका बालबालिका (लिखुरे) १६.९ प्रतिशत र उमेर अनुसार उचाई कम भएका बालबालिका (पुड्को) २६.२ प्रतिशत रहेका छन ।

कोशी प्रदेशमा यसप्रकारका बालबालिकाको प्रतिशत क्रमश ः १५.९ र २२.४ रहेको छ । सर्वेक्षणअनुसार आधारभूत तह कक्षा १–५ का ४.२ प्रतिशत, कक्षा ६–८ का ३.६ प्रतिशत तथा माध्यमिक तह कक्षा ९–१२ का १३.६ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको देखिएको छ । कोशी प्रदेशमा विद्यालय बाहिर रहेका यस्ता बालबालिकाको प्रतिशत क्रमशः ३.०, २.३ र १३.४ रहेको छ । नेपालमा ५ वर्षमुनिका ८५.४ प्रतिशत बालबालिकाको जन्मदर्ता भएको छ । प्रदेशगत आधारमा हेर्दा जन्मदर्ताको दर सबैभन्दा उच्च कर्णाली प्रदेशमा (९५.८ प्रतिशत) र सबैभन्दा न्युन कोशी प्रदेशमा (७८.४ प्रतिशत) रहेको देखिन्छ । यसैगरी, ५ बर्षमुनिका ८२.९ प्रतिशत बालबालिकाका आमा वा स्याहारसुसार गर्ने ब्यक्तिले जन्मदर्ता गर्ने प्रक्रिया थाहा भएको बताएका छन ।

प्रदेशगत आधारमा हेर्दा कोशी प्रदेशमा यस्तो जानकारी भएका ब्यक्तिको प्रतिशत ८८.३ रहेको पाइएको छ । बाल–श्रममा संलग्न भएका ५–१७ वर्ष उमेर समूहका बालबालिकाको प्रतिशत नेपालमा १२.१ र कोशी प्रदेशमा १७.५ रहेको यो सर्वेक्षणले देखाएको छ । २०–२४ वर्ष उमेर समूहका महिलामध्ये १५ वर्ष उमेर पूरा हुनुअघि विवाह गर्नेको प्रतिशत नेपालमा ५.१ र कोशी प्रदेश ५.५ रहेको छ । यसैगरी, १८ वर्ष उमेर पूरा हुनुअघि विवाह गर्ने यसै उमेर समूहका महिलाको प्रतिशत राष्ट्रिय स्तरमा २७.६ र कोशी प्रदेशमा २४.२ रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा १५–४९ वर्ष उमेर समूहका ७५.८ प्रतिशत व्यक्तिले राति आफ्नो छिमेकमा एक्लै हिँड्दा सुरक्षित महसुस गर्ने बताएका छन् भने कोशी प्रदेशमा यस्तो प्रतिशत ८०.५ रहेको पाइएको छ ।

सर्वेक्षणअनुसार १५–४९ वर्ष उमेर समूहका महिलाको कुल प्रजनन दर प्रति महिला औसत १.९ जीवित जन्म रहेको छ भने कोशी प्रदेशमा यो दर २.० रहेको देखिन्छ । सर्वेक्षणअनुसार १५–१९ बर्ष उमेर समूहका किशोरीको प्रजनन दर प्रति १००० किशोरीमा ४८ जिवित जन्म रहेको छ भने कोशी प्रदेशमा यो दर ४७ रहेको छ । त्यसैगरी, २०–२४ बर्ष उमेर समूहका महिलामध्ये ११.२ प्रतिशतले १८ बर्ष उमेर पुग्नुअघि नै जिवित बच्चा जन्माइसकेको देखिन्छ, जबकि कोशी प्रदेशमा यस्तो प्रतिशत १३.६ रहेको छ । सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार १५–४९ बर्ष उमेर समूहका हाल विवाहित ३ जना महिलामध्ये करिब १ जना (३५.० प्रतिशत) महिलाले परिवार नियोजनका कुनै न कुनै उपाय वा साधन (परम्परागत वा आधुनिक विधि) प्रयोग गरिरहेको देखिन्छ ।

कोशी प्रदेशमा यो प्रतिशत ३४.६ रहेको छ, जुन राष्ट्रिय दरसँग लगभग समान छ । त्यसैगरी, सोही उमेर समूहका परिवार नियोजनको आवश्यकता भएका २ जना विवाहित महिलामध्ये करिब १ जना (५५.२ प्रतिशत) महिलाले आधुनिक परिवार नियोजनका साधन प्रयोग गरी आफनो आवश्यकता पूरा गरेको देखिन्छ। कोशी प्रदेशमा पनि यो दर लगभग समान (५२.६ प्रतिशत) रहेको छ । सर्वेक्षणभन्दा २ वर्ष अघिसम्मको अवधिमा जीवित शिशुलाई जन्म दिएका १५–४९ वर्ष उमेर समूहका महिलामध्ये ८५.० प्रतिशत महिलाले सिफारिश भए बमोजिम कुनै स्वास्थ्यकर्मीसँग कम्तिमा ४ पटक पूर्वप्रसूति जाँच गराएको देखिन्छ भने कोशी प्रदेशमा यसप्रकारले जाँच गराउने महिलाको प्रतिशत राष्ट्रियस्तरको तुलनामा केही बढी (५.९ प्रतिशत) रहेको छ ।

सर्वेक्षणअगाडि दुई बर्षभित्र जीवित शिशु जन्माएका १५–४९ बर्ष उमेर समूहका महिलामध्ये ९०.५ प्रतिशतले स्वास्थ्य संस्थामा प्रसूति गराएका, ९१.४ प्रतिशतले दक्ष प्रसूतिकर्मीको सहयोग लिएका र २५.४ प्रतिशतले सिजेरियन सल्यक्रियामार्फत प्रसूति गराएका छन । कोशी प्रदेशमा यी दरहरु क्रमशः ८९.९ प्रतिशत, ९१.१ प्रतिशत र ३४.० प्रतिशत रहेको छ । प्रतिवेदन अनुसार नेपालमा ९६.७ प्रतिशत घरपरिवारका सदस्य निरन्तर विद्युत सेवामा पहुँच भएको घरपरिवारमा बसोबास गर्ने गरेको पाइएको छ । कोशी प्रदेशमा यस्तो सुबिधाको पहुँच भएका घरपरिवार ९४.६ प्रतिशत रहेका छन ।

सर्वेक्षणअनुसार करिब पाँचमध्ये चार घरपरिवार (८२.० प्रतिशत) ले इन्टरनेट सुबिधा सहितको उपकरण प्रयोग गर्ने गरेको पाइएको छ । कोशी प्रदेशमा पनि यो दर लगभग समान (८१.३ प्रतिशत) रहेको छ । कोशी प्रदेशमा ८९.८ प्रतिशत व्यक्तिसँग आफ्नै मोबाइल फोन रहेको पाइएको छ भने ९६.३ प्रतिशत व्यक्तिले पछिल्ला तीन महिनामा मोबाइल फोन प्रयोग गरेको सर्वेक्षणले देखाएको छ ।