विराटनगर १५ वैशाख । विराटनगर जुट मिल्सकाे जग्गा ओगटेर अनधिकृत रुपमा बसोबास गरिरहेकाहरुलाई एक साता भित्रमा हटाईने भएको छ । जुटमिलको हटताली हाट क्षेत्र, दक्षिण गेट, हरिनगरा भट्टा क्षेत्रमा अनधिकृत रुपमा बसोबास गरिरहेका परिवार र जुटमिलको सडक किनारा क्षेत्रमा भाडा नतिरी पसल व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई हटाईने भएको हो ।
जुटमिलको करिव १४ विगाहा क्षेत्रफलमा करिव ६ सय परिवारको बसोबास रहेको छ । सडक किनारा क्षेत्रमा भाडा नतिरी करिव ३० वटा पसल व्यवसाय सञ्चालनमा रहेको बताईएको छ । संघीय सरकारको निर्णय अनुसार एक साता भित्रमा अनधिकृत रुपमा बसोबास गरिरहेका परिवारहरु र भाडा नतिरी पसल व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई हटाइने विराटनगर जुटमिल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कार्कीले जानकारी दिनुभयो । हटाउने प्रकृया अघि बढीसकेको उहाँले बताउनुभयो । जुटमिलको सडक किनारा क्षेत्रमा एक÷ दुई वटा पसल बाहेक अन्यले भाडा नतिरेको अध्यक्ष कार्कीले बताउनुभयो ।
भाडा तिरेर पसल ब्यवसाय गरिरहेकाहरुलाई बैकल्पिक व्यवस्था गरिने र नतिर्नेहरुलाई प्रशासनको सहयोग लिएर असुल गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ जुटमिल क्षेत्रमा बसोबास गरिरहेकाहरुले खाना पकाउने भाडा वर्तन र लत्ताकपडा बाहेक अन्य लैजान पाउने छैनन । अन्य सवै जुटमिलकै सम्पत्ती रहेको छ ।’ जुटमिलमा अनधिकृत बसोबास गरिरहेकाहरुले विराटनगर बजार क्षेत्रमा घर निर्माण गरि भाडा लगाएर बसेको श्रोतको भनाई छ ।
श्रोतका अनुसार करोडौंका घरहरु निर्माण गरि भाडा लगाउनेहरु अनधिकृत रुपमा जुटमिल भित्र अनधिकृत रुपमा बसोबास गरिरहेका छन् । केही व्यक्तिहरु मिलेर जुटमिल भित्रै गार्मेन्ट फ्याक्ट्री समेत सञ्चालन गरेको बताईएको छ । जुटमिलमा कार्यरत कर्मचारीका लागि बनाईएको आवासहरु अवकास भएपनि नछाड्नेहरु धेरै रहेको प्रशासन प्रमुख श्याम लामाले जानकारी दिनुभयो । उहाँका अनुसार चरम राजनीतिक हस्तक्षेप र विद्युतभार कटौतीका कारण जुट मिल पटक–पटक बन्द हुने र खुल्ने क्रम शुरु भएपछि खाली जमिनमा घर निर्माण गरि बसोबास गर्नेहरुको संख्या पनि अधिक छ । उहाँले भन्नुभयो,‘ मिल बन्द भएपछि अबकास भएकाहरुले पनि आवास छाडेनन् । बाहिरका व्यक्तिहरु पनि बस्न थाले ।’
विराटनगर जुट मिल वि.सं. १९९३ मा स्थापित नेपालको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै होइन मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको लहर चलेको थियो । पछिल्लो पटक २०७० सालदेखि जुटमिल बन्द छ । लामो समयदेखि बन्द भएको उद्योग खण्डहर जस्तै बनेको छ । संरक्षण अभावमा उद्योगका धेरै सामान चोरी भएका छन । भएका पनि लामो समयदेखि प्रयोगविहीन हुँदा खिया लागेर काम नलाग्ने भएके बताईएको छ ।