विराटनगर १३ वैशाख । वर्तमान आर्थिक अवस्थाले कोशी प्रदेशमा पूर्वाधार निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै काम ठप्प हुने चेतावनी निर्माण व्यवसायीहरुले दिएका छन् ।
मध्यपूर्व युद्धदेखि बजारमा निर्माण सामग्रीको मूल्यवृद्धि एवं अभावका कारण निर्माण क्षेत्र संकटग्रस्त अवस्थामा पुगेको उनीहरुको भनाई छ । निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै पूर्वाधार निर्माण क्षेत्रले पछिल्लो समय ठूलो संकट बेहोरिरहेको जनाएको छ । इन्धनजन्य पदार्थ तथा निर्माण सामग्रीमा भएको निरन्तर र अप्रत्याशित मूल्यवृद्धिले निर्माण उद्योगलाई लगभग ठप्प बनाउने अवस्थामा र्पुयाएको निष्कर्ष महासंघको छ ।
महासंघका कोशी प्रदेश अध्यक्ष जनसेवक भण्डारीले पछिल्लो समय मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध र तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अस्वाभाविक रूपमा बढेको र त्यसको प्रत्यक्ष असर नेपालजस्तो आयातमा निर्भर मुलुकमा देखिएको बताउनुभयो ।
भण्डारीले करिब दुई महिनाको अवधिमा इन्धनजन्य पदार्थको मूल्य झन्डै ६० प्रतिशतसम्म बढेको र त्यससँगै बिटुमिन, सिमेन्ट, डण्डीजस्ता निर्माण सामग्रीको मूल्यमा करिब ४० प्रतिशत वृद्धि भएको जानकारी दिनुभयो । महासंघ कोशीका वरिष्ठ उपाध्यक्ष केशरकुमार बुढाथोकीले समस्या समाधानका लागि महासंघले बारम्बार नेपाल सरकार तथा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै ठोस कदम चालिएको नचालिएको गुनासो गर्नुभयो । उहाँले बजारमा निर्माण सामग्रीको मूल्य अत्यधिक बढे पनि सूचकांकमा घटेको देखाइने प्रवृत्तिका कारण व्यवसायीहरू थप मारमा परेको उल्लेख गर्नुभयो ।
बुढाथोकीले विगतको उदाहरण दिँदै २०६५ सालमा पनि यस्तै मूल्यवृद्धि हुँदा सरकारले ‘मूल्य समायोजन मार्गदर्शन–१’ जारी गरेर समस्या समाधानको प्रयास गरेको स्मरण गराउनुभयो । तर, हालसम्म ‘मार्गदर्शन–२’ जारी नहुनु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ । उनले यस्तो मार्गदर्शन तत्काल जारी नगरे विकास बजेट खर्चसमेत प्रभावित हुने बताउनुभयो ।
महासंघ कोशीका महासचिव रमेश कार्कीले इन्धन तथा निर्माण सामग्रीको अभावका कारण राष्ट्रिय गौरवका आयोजनासहित देशभरका साना–ठूला सबै आयोजनाहरू प्रभावित भएको बताए । उनले प्रत्येक आयोजनामा मूल्यवृद्धिअनुसार समायोजन हुने स्पष्ट नीति आवश्यक रहेको र त्यसका लागि ‘मूल्य समायोजन मार्ग निर्देशिका–२’ तत्काल जारी गर्नुपर्ने माग गर्नुभयोे ।
महासंघ कोशीका द्वितीय उपाध्यक्ष सन्तोषकुमार ढुंगानाले अहिलेको अवस्थाले कुनै पनि आयोजना निर्धारित समयमा सम्पन्न हुने सम्भावना समाप्तप्राय भएको बताउनुभयो । महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष केशवप्रसाद गौतमले सबै अवधिका ठेक्काहरूमा समान रूपमा मूल्य समायोजन लागू गर्नुपर्ने माग गर्नुभउको छ ।
पत्रकार सम्मेलनमा निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य गोपालकुमार कार्की, सदस्य कमलप्रसाद गौतम, गणेशप्रसाद यादव, निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेशकुमार मिश्र, सुनसरी अध्यक्ष जयप्रकाश साह, मोरङ महासचिव उत्तमराज जोशी लगायतका निर्माण व्यवसायीहरूको उपस्थिति रहेको थियो ।