आज लोकतन्त्र दिवस

विराटनगर ११ वैशाख । जनआन्दोलन २०६२–६३ को सफलता स्वरूप प्राप्त लोकतन्त्रको सम्झनामा आज देशभर २० औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलहरूको मार्गचित्रबमोजिम विघटित संसद् पुनस्र्थापना गरेको ऐतिहासिक दिनको स्मरणमा विसं २०६४ देखि यो दिवस मनाउन थालिएको हो ।

नेपालको राजनीतिक इतिहासमा विसं २०५९ जेठ ८ गते संसद् विघटन भएपछि सुरु भएको अस्थिरता र राजाको प्रत्यक्ष शासनको शृङ्खला वैशाख ११ को घोषणासँगै अन्त्य भएको थियो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै हटाउँदै गरेपछि २०६१ माघ १९ गते शासन सत्ता पूर्णतः आफ्नै हातमा लिएका थिए ।

राजाको उक्त कदमपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी) बिच २०६२ मङ्सिरमा भएको १२ बुँदे समझदारीले आन्दोलनलाई निर्णायक मोड दिएको थियो ।

तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलन चैतमा पुग्दा देशव्यापी बन्यो । नयाँ वर्ष २०६३ को सुरुवातसँगै लाखौँ जनता सडकमा उत्रिएर चक्रपथ मानव सागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको माग सम्बोधन गर्न बाध्य भएका थिए । वैशाख ११ गते राति राजाले संसद् पुनस्र्थापनाको घोषणा गर्दै बैठक आह्वान गरेसँगै जनताको जित भएको थियो । यही दिनलाई नै नेपालमा गणतन्त्रको बलियो जगका रूपमा लिइन्छ ।

संसद् पुनस्र्थापनापछि २०६३ जेठ ४ गते बसेको बैठकले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो । उक्त ऐतिहासिक घोषणालाई नेपाली म्याग्नाकार्टा समेत भनिन्छ । सोही जगमा विसं २०६४ मा पहिलो संविधानसभा निर्वाचन भयो भने २०६५ जेठ १५ गतेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको विधिवत अन्त्य गरी नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि नेपालमा सङ्घीयता कार्यान्वयनमा आएको छ ।