कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

विराटनगर ८ वैशाख । कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ प्रमाणीकरण भएको छ ।

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले सोमबार विधेयक प्रमाणीकरण गर्नुभउको हो । कोशी प्रदेशसभाबाट २०८२ पुस २३ गते पारित सोविधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नु भएको हो । यसबारे सोमबार सूचना जारी गरिएको हो ।

विधेयक प्रमाणीकरणसँगै अब यो विधेयक ऐनका रूपमा कार्यान्वयनमा जाने बाटो खुलेको छ । ऐनले प्रदेशभित्र सञ्चालन हुने एफएम रेडियो, अनलाइन मिडिया तथा पत्रपत्रिकालाई दर्ता र सूचीकरणको दायरामा ल्याउने व्यवस्था गरेको छ । यसले सञ्चार माध्यमको सञ्चालनलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य राखेको छ ।