विराटनगर ८ वैशाख । अदालतले विभिन्न कसुरमा दोषी ठहर गर्दै कैद तथा जरिबानाको फैसला सुनाए पनि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न मोरङ प्रहरी सक्रिय बनेको छ । प्रहरीले मंगलबार मात्रै विभिन्न मुद्दाका कसुरदारहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको छ ।
अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिबाना भुक्तान नगरी फरार रहेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेका अनुसार पक्राउ पर्नेहरूमा चेक अनादर, पशुपन्छी सम्बन्धी कसुर र सवारी ज्यानसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भइसकेका व्यक्तिहरू रहेका छन् ।
उनीहरु मोरङ जिल्ला अदालतले तोकेको कैद र जरिबाना भुक्तान नगरिकन भागिरहेका थिए । विशेषगरी चेक अनादरसम्बन्धी मुद्दामा रमेशकुमार घिमिरे र विनोद घिमिरे गरी दुई जना व्यक्तिहरू तीनवटा छुट्टाछुट्टै मुद्दामा दोषी ठहर भएको खुलेको डीएसपी लामिछानेको भनाइ छ । रमेशलाई मोरङ जिल्ला अदालतले २०८१ माघ ९ गते एक हजार, २०८१ मंसिर २८ गते एक हजार र २०८१ फागुन १६ गते एक हजार पाँच सय रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो । तर, उनी जरिबाना भुक्तान नगरिकन भागिरहेका थिए ।
विनोद पनि चेक अनादरसम्बन्धी तीनवटा अलगअलग मुद्दामा दोषी ठहर भएका थिए । उनलाई अदालतले २०८१ मंसिर १५ गते पाँच सय, २०८१ मंसिर ३१ गते तीन हजार र २०८२ फागुन २७ गते एक हजार रूपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो । तर, तीनवटा फरकफरक मुद्दामा जरिबाना तोकिएका उनी हालसम्म फरार रहेको डीएसपी लामिछानेले बताउनुभयो ।
पशुपन्छी सम्बन्धी कसुरमा दोषी ठहर भएका लेटाङ नगरपालिका–६ का धनबहादुर तामाङ, राजकुमार भनिने पूर्णबहादुर तामाङ र भीमबहादुर लिम्बू पनि दोषी ठहर भई फरार रहेका थिए । तीनै जनालाई मोरङ जिल्ला अदालतले २०८१ भदौ २२ गते जनही ५ महिना १२ दिन कैद सजाय हुने फैसला सुनाएको थियो । यसैबीच, सवारी ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी लेटाङ–६ का सन्तोष लिम्बू पनि पक्राउ परेका छन् । उनलाई अदालतले २०८१ मंसिर ५ गते ५ महिना ३ दिन कैद र २ हजार रुपैयाँ जरिबाना तोकेको थियो ।