विराटनगर ४ वैशाख । नेपाली कांग्रेसको संसदीय दल नेता छान्नको लागि निर्वाचन प्रक्रिया आजबाट सुरु भएको छ । दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलको नेताबारे छलफल भएको निर्वाचन समितिका संयोजक एवं कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताउनुभयो ।
दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । यसबाहेक मोहन आचार्यदेखि निश्कल राईसम्मको चर्चा छ । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् । कांग्रेसले सर्वसम्मत दलको नेता चयन गर्ने प्रयास गरिरहेको छ। सहमति नजुटे निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने तयारी गरेको छ ।
सहमतिको लागि भोलि पनि फेरि बैठक बस्ने उनले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘दलको नेता चयनको लागि कार्य प्रारम्भ भएको छ । आज दलको नेता टुङ्गिएन। हामी भोलि पनि दाबेदारहरूसँग छलफल गर्छाैँ ।’ उहाँले दलको नेतामा दाबी गर्नेहरूसँग पार्टी नेतृत्वसहित बसेर भोलि छलफल गर्ने बताउनुभयो ।