कोशी प्रदेशमा तीन महिनामा हिंसाका घटनाबाट १२७ महिला पीडित

विराटनगर ३० चैत । कोशी प्रदेशमा तीन महिनाको अवधिमा महिला तथा किशोरी माथि १२७ वटा हिंसाका घटनाहरु भएका छन् । गत जनवरी देखि मार्च सम्मको अवधिमा घरेलु हिंसाका घटनामा मात्रै करिव ६१ प्रतिशत महिला पीडित बनेको बताईएको छ ।

महिला पुर्नस्थापना केन्द्र ओरक र तरङ्गीनी फाउन्डेसनले आज विराटनगरमा महिला तथा किशोरीमाथि हुने हिंसामा कोशी प्रदेशको अवस्थाबारे पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा ओरेककी कार्यकारी निर्देशक सुनिता मैनालीले महिला तथा किशोरीमाथि हुने विभिन्न ९ प्रकारका घटनाहरु मध्ये घरेलु हिंसाका घटना बढी रहेको बताउनुभयो । उहाँले १२७ घटनाहरु मध्ये यौन हिंसा करिव २१ प्रतिशत रहेको बताउनुभयो ।

घरेलुहिंसा, यौन हिंसा, सामाजिक हिंसा, हत्या तथा हत्याको प्रयास, आत्महत्या, आत्महत्याको प्रयास, साईबर अपराध, अलपत्र र मानव बेचविखनका घटनाहरु १८ देखि २५ वर्ष उमेरसमूहका बढी पीडित भएका छन् । आर्थिक वर्ष २०८१–०८२ मा देशभर महिला हिंसाका २१ हजार ६६७ घटना भएको मध्ये घरेलु हिंसाका १७ हजार ४८२ घटना भएको थियो । अदालतमा १४ मात्रै मुद्धा दर्ता भएको कार्यकारी निर्देशक मैनालीको भनाई छ ।

नेपालमा हिंसा रोकथामका लागि पहल तथा प्रयासहरू भएपनि पितृसत्तात्मक सोच र शक्ति असन्तुलनका कारण महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरु बढ्दोक्रममा रहेको उहाँले बताउनुभयो ।

तरङ्गीनी फाउन्डेसनले कोशी प्रदेशका तीन जिल्लामा परिवर्तन परियोजना सञ्चालन गरिरहेको कार्यक्रम संयोजक रोमा रिजालले जानकारी दिनुभयो । मोरङ, सुनसरी र उदयपुरमा परियोजना सञ्चालनमा रहेको उहाँले बताउनुभयो । उहाँले महिलामाथि विभेद कायमै रहेको बताउनुभयो । महिलाको नेतृत्वलाई कम आँक्ने, महिला मानवअधिकार रक्षकहरुलाई अहिले पनि धम्कीका घटनाहरुमा कमी आउन नसक्नु मुख्य चुनौति देखिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ, मोरङ अध्यक्ष सुशीला पाठक, सचिव नेत्र पी अधिकारी, संसदीय पत्रकार मञ्च कोशी प्रदेशका अध्यक्ष कुमार लुइँटेल, प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेल लगायतले महिला तथा किशोरी माथि हुने हिंसाका घटना नियन्त्रणका लागि सञ्चारमाध्यम मार्फत भूमिका खेल्ने प्रतिबद्धता जनाउनु भएको थियो ।