विराटनगर ३० चैत । विराटनगरका महिला समितिका प्रतिनिधिहरुलाई मानव अधिकार सम्वन्धी प्रशिक्षण दिईएको छ । विराटनगर महानगरपालिकासँगको सहकार्यमा सामुदायिक एकता मञ्च नेपाल ( फोकस) विराटनगरले १९ वटै वडाका महिला समितिका प्रतिनिधिहरुलाई मानव अधिकार सम्वन्धी प्रशिक्षण दिईएको हो ।
चैत २९ र ३० गते दुई दिन विराटनगरमा आयोजना गरिएको कार्यक्रममा १६० जनाको सहभागिता रहेको थियो । आईतबार वडा नं. १ देखि ९ सम्म र सोमबार १० देखि १९ नम्वर वडाका महिला समितिका प्रतिनिधिहरु सहभागिता रहेको फोकस नेपाल विराटनगरका सचिव विनोद पोखरेलले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा मानवअधिकारका विषयमा सोमराज थापा, समुदाय स्वास्थ्य अधिकार र जनचेतना अभिबृद्धिका विषयमा बागमति कट्टेल, मानसिक स्वास्थ्यका विषयमा गीताञ्जली शर्मा र लैंगिक हिंसा र मानव बेचविखनका विषयमा विनोद पोखरेलले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमका सहभागीहरुले तालिमको समय अवधि कम भएको बताएका थिए । तालिमको विषय राम्रो भएकाले आगामी दिनमा तालिम अवधि बढाउनुपर्ने बताएका थिए ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा फोकस नेपालका अध्यक्ष सोमराज थापा, उपाध्यक्ष बागमति कट्टेल, सचिव विनोद पोखरेल, सहसचिव गीताञ्जली शर्मा, सदस्यहरु साधना झा र आभा अनुपमा, विराटनगर महानगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख राधिका कार्की, सन्ध्या श्रेष्ठ, सुनिता पौडेल, गैरसरकारी संस्था महासंघ मोरङका सचिव नवराज निरौला लगायतको सहभागिता रहेको थियो ।
