विराटनगर २७ चैत । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित हुनु भएको छ । आज भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुनु भएको हो ।
आज उपस्थित भएका २५७ मध्ये रुबीकुमारीले २१५ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाउनुभयो । रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो । एमालेले कसैलाई मतदान गरेन । एमालेका २५ सांसद छन् तर तटस्थमा ३७ मत खस्यो । नेपालकै कम उमेरकी उपसभामुख बनेकी २५ वर्षकी रुबीकुमारी अहिलेको संसदकै कान्छी सदस्य हुनुहुन्छ ।
श्रम संस्कृति पार्टीले उहाँलाई मधेसी महिला कोटामा समानुपातिकको बन्दसूचीमा राखेको थियो । धनुषाको सामान्य परिवारमा जन्मिएकी रुबीकुमारीसँग कुनै पनि राजनीतिक पृष्ठभूमि थिएन । उहाँको काँधमा ४ बहिनी र २ भाइको जिम्मेवारी थियो ।
रुबीका बाबु सोगराथ ठाकुर अहिले पनि वैदेशिक रोजगारीका लागि साउदीअरबमा हुनुहुन्छ । आमा रेणु गृहणी हुनुहुन्छ । दुई विघा जमिन अधियाँमा लिएर गरेको खेति र बुवाले पठाउने रेमिट्यान्सबाट रुबीको परिवार चलेको छ ।
रुबीले २७४ सालमा एसईई उत्तिर्ण गरेपश्चात धनुषाकै बलरा पोलिटेक्निकबाट ३ वर्षे डिप्लोमा (इन्जिनियरिङ) अध्ययन पूरा गर्नुभएको थियो ।