विराटनगर २७ चैत । मोरङ ग्रामथानमा एसईई परीक्षाको प्रश्नपत्र आउट गर्ने सहायक केन्द्राध्यक्ष प्रेमलाल माझी लाई पक्राउ गरिएको छ ।
ग्रामथान गाउँपालिका–६ स्थित पब्लिक माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको एसईई परीक्षा केन्द्रबाट सहायक केन्द्राध्यक्षकै संलग्नतामा प्रश्नपत्र बाहिर पठाइएको थियो । प्रश्नपत्र बाहिर पठाउने सहायक प्रेमलाल माझीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिहीबार सञ्चालन भएको लेखा विषयको परीक्षाका क्रममा उनले मोबाइल फोन प्रयोग गरी प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बतायो । स्रोतका अनुसार परीक्षा सञ्चालनको जिम्मेवारीमा रहेका व्यक्तिबाटै यस्तो कार्य भएको फेला परेको छ ।
परीक्षाको गोपनीयता भंग हुने गरी प्रश्नपत्र बाहिर पठाइएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले माझीलाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक सोधपुछ गर्दा उनले मोबाइलमार्फत प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएको स्वीकार गरेको स्रोतको दाबी छ ।
पक्राउ परेका माझीविरुद्ध शिक्षा ऐन अन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने आशंकामा त्यसतर्फ समेत अनुसन्धान केन्द्रित गरिएको प्रहरी स्रोतले बतायो ।
मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेले सहायक केन्द्राध्यक्ष पक्राउको विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो । एसईई परीक्षा सञ्चालन र अनुगमनको मुख्य जिम्मेवारीमा रहेको शिक्षा विकास तथा समन्वय इकाईले पनि यस घटनालाई ढाकछोप गर्न खोजेको छ । इकाईका मोरङ प्रमुख शालिग्राम दाहालले पक्राउको विषय आफूलाई थाहा नभएको बताउनुभयो ।