विराटनगर २६ चैत । स्वास्थ्यको कोशी प्रदेश स्तरिय एकिकृत अर्धबार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठि आज देखि विराटनगरमा शुरु भएको छ । समीक्षा कार्यक्रमको उद्घाटन स्वास्थ्य मन्त्री मानबहादुर लिम्वुले स्वास्थ्यका कार्यक्रम सञ्चालनमा भन्दा पनि परिणाममुखी बनाउनुपर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रमलाई नतिजामुखी बनाउन उहाँले निर्देशन दिनुभयो । मन्त्री लिम्वुले स्वास्थ्य मन्त्रालयका आगामी प्राथमिकता स्थानीय तहमा नसर्ने रोगहरुको नियमित स्क्रिनिङ, मानसिक स्वास्थ्य सेवालाई आधारभूत तह सम्म पुर्याईने, प्रदेश भित्रका सवै अस्पतालमा डिजिटल रिपोर्टिङ प्रणाली शुरु गरिने, टिबी तथा खोप कार्यक्रमलाई प्रभावकारी बनाईने बताउनुभयो । आगामी ६ महिनाको प्राथमिकता निर्धारण गरि कार्यक्रम तयार गर्न उहाँले निर्देशन दिनुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले आयोनाा बैंकमा स्वास्थ्यका कार्यक्रमहरु प्रविष्टी गर्न आग्रह गर्नुभयो । आगामी बैशाख ७ गते भित्रमा स्वास्थ्य सम्वन्धीका योजनाहरु बैंकमा प्रविष्टी गर्न सकिने बताउनुभयो । प्रदेश सरकारले धनकुटामा सञ्चालनको तयारी गरेको शिक्षण अस्पतालको संभावना र अवसरबारे छलफल गरि योजना आयोगलाई सुझाव दिन पनि उहाँको आग्रह छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. ज्ञानबहादुर बस्नेतले तीन दिनको समीक्षाले आगामी आर्थिक वर्षको योजना निर्माणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले साउन देखि फागुन सम्म सञ्चालन गरिएका कार्यक्रमको समीक्षा गरिने बताउनुभयो ।
कार्यक्रममा चालु आर्थिक वर्ष २०८२–०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरु प्रगती समीक्षाको प्रस्तुतीकरणहरु नर्सिङ अधिकृत मञ्जु देवकोटा, आस्था थापा, रमेश बाराकोटी र डा. सभ्यता पन्थीले गर्नु भएको थियो । डा. पन्थीले स्वास्थ्य मन्त्रालय, निर्देशनालय, तालिम केन्द्र र प्रदेश प्रयोगशालामा गरि ७४ दरबन्दी अझै रिक्त रहेको बताउनुभयो । १३१ स्वीकृत दरबन्दी मध्ये ५७ जना मात्रैको पदपुर्ती भएको उहाँले बताउनुभयो ।
तीन दिन सम्म हुने कार्यक्रममा जिल्ला स्तरिय स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र आयुर्वेद कार्यालयका प्रमुखहरु लगायतको सहभागिता रहेको छ ।
