सभामुख अर्यालद्धारा पदभारग्रहण

विराटनगर २२ चैत । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी )अर्यालले पदबहाली गर्नुभएको छ । उहाँले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गर्नुभएको हो ।

आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले सभामुखको कार्यभार सम्हाल्नु भएको हो । उहाँलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत अधिकारीले स्वागत गरेका थिए ।

धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित हुनु भएकोे हो ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं ९ बाट निर्वाचित हुनु भएको थियो । निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिनु भएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी वहन गरिसक्नु भएको छ ।

संसद्का प्रमुख अर्याललाई कानुन निर्माण, सरकारका गतिविधिको निगरानीका साथै राजनीतिक ध्रुवीकरण र दलहरूको मतभेद अन्त्य गर्न सन्तुलित ढङ्गले संसद् सञ्चालन गर्नु चुनौतीपूर्ण छ ।