कोशी प्रदेश सरकारद्धारा एसईई दिने विद्यार्थीका लागि परीक्षा केन्द्रमै मनोसामाजिक तथा पारिवारिक परामर्श सेवा

विराटनगर १९ चैत । कोशी प्रदेश सरकारले एसईई दिने परीक्षार्थीलाई लक्षित गरि नर्सको उपस्थितिमा मनोसामाजिक तथा पारिवारिक परामर्श सेवा शुरु गरेको छ ।

आज देखि शुरु भएको परीक्षालाई लक्षित गर्दै प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्र्तगतको प्रदेश शिक्षा निर्देशनालयले मनोसामाजिक तथा पारिवारिक परामर्श सेवा उपलब्ध गराउने निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

परीक्षा अवधिभर परामर्शदाता र नर्सको उपस्थिति अनिवार्य गरिएको छ । विद्यालय नर्सिङ कार्यक्रम लागु भएका विद्यालयका परीक्षा केन्द्रमा विद्यालय नर्सले र नर्स नभएका विद्यालयका परीक्षा केन्द्रमा स्थानमा स्थानीय तहलाई वैकल्पिक व्यवस्था गर्न भनिएको निर्देशक पोखरेलले बताउनुभयो ।

मनोसामाजिक तथा पारिवारिक परामर्श सेवा सँगै प्राथमिक उपचार सामग्री, सेनेटरी प्याड लगायत आवश्यक स्वास्थ्य सामग्रीको पनि व्यवस्थापन गरिएको बताईएको छ ।

चैत १९ गते ( आज) बाट सुरु एसईई परीक्षामा कोशी प्रदेशबाट ८० हजार ९ सय १० विद्यार्थी सहभागी छन् ।