भाेजपुरकाे चण्डेश्वरी विद्यालयलाई हर्कबहादुर श्रेष्ठको परिवारद्वारा एक लाख हस्तान्तरण

दिंला १८ चैत । भोजपुरको षडानन्द नगरपालिका–८ सेमेङमा समुदायको सक्रियतामा विद्यालय सुधार अभियानलाई तीव्र पारिएको छ ।

चण्डेश्वरी आधारभूत विद्यालयको भौतिक अवस्था सुधार तथा शैक्षिक सामग्री व्यवस्थापनका लागि स्थानीय समुदाय, पूर्वविद्यार्थी तथा निजी स्रोतबाट आर्थिक सहयोग जुटाउनलाई अभियान सञ्चालन गरिएको हो ।

विक्रम संवत २०१६ सालमा स्थापना भएको विद्यालयको भौतिक अवस्था कमजोर बन्दै गएर आवश्यक शैक्षिक सामग्रीको अभावसमेत देखिन थालेपछि विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार सुधार कार्यलाई अगाडि बढाउने पहल गरिएको हो । समितिका अध्यक्ष पीताम्बर श्रेष्ठको नेतृत्वमा सुरु गरिएको अभियानले विद्यालयलाई पुनः सुदृढ र व्यवस्थित बनाउने लक्ष्य लिएको छ ।

अभियानअन्तर्गत एउटै परिवारबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

विद्यालय स्थापनाकालदेखि नै योगदान गर्दै आएका स्वर्गीय हर्कबहादुर श्रेष्ठको स्मृतिमा उनकी धर्मपत्नी नरमाया श्रेष्ठले विद्यालयको शैक्षिक उन्नयनमा टेवा पुर्‍याउने उद्देश्यसहित परिवारका तर्फबाट एक लाख रूपैयाँ सहयोग प्रदान गरेकी हुन् ।

स्थानीयस्तरमा विद्यालयको स्थापना र सञ्चालनमा स्वः श्रेष्ठको महत्वपूर्ण योगदान रहेको थियो ।

उक्त सहयोग रकम विद्यालय व्यवस्थापन समितिको बैठकमा मंगलबार औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

विद्यालयमा चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सम्पन्न भएपछि आगामी शैक्षिक सत्रको तयारीका लागि बसेको बैठकमा षडानन्द नगरपालिका–८ का कार्यवाहक वडाध्यक्ष विकास श्रेष्ठको रोहबरमा विद्यालयकी प्रधानाध्यापक आकांक्षा तामाङलाई नरमाया श्रेष्ठ स्वयं उपस्थित भएर एक लाखको चेक हस्तान्तरण गर्नुभयाे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठका अनुशार हाल सम्म सेमेङ निवासी तथा पूर्वविद्यार्थीहरू गनु साम्पाङ राई, बलबहादुर विश्वकर्मा र दीपक विश्वकर्माले जनही १० हजारका दरले र चण्डी कार्कीले ५ हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन् । पुर्व विद्यार्थीहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएकाे उहाँले   बताउनुभयाे ।

चण्डेश्वरी आधारभूत विद्यालय कक्षा १ देखि ५ सम्म सञ्चालित छ ।