विराटनगर, १७ चैत । खोटाङको दिप्रुङ चुईचुम्मा १ स्थित खमारेमा रहेको श्री आधारभूत विद्यालयमा स्व. बाबुराम सिग्देलको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ ।
काठमाडौंको शंखमुल निवासी स्वर्गीय सिग्देलकी आमा राधादेवी, श्रीमती पुजा तथा छोराहरु सुभाष, सन्तोष र सुमन सिग्देलले अक्षय कोष स्थापना गरेका हुन् ।
विद्यालयमा आईतबार आयोजित एक कार्यक्रममा सिग्देलको परिवारले अक्षय कोषमा नगद एकलाख ५१ हजार एकसय ५१ रुपैयाँ जम्मा गराएका छन् ।
अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष दुई जना जेहेन्दार तथा विपन्न छात्र–छात्रालाई छात्रवृति प्रदान गरिनेछ । विद्यालय व्यवस्थापन समितिसँगसमेत आवद्ध रहेका स्व. बावुराम सिग्देलसहित परिवारका अन्य सदस्यले समेत सोही विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए ।
सो अवसरमा बोल्दै अक्षय कोषका संस्थापक एवम् स्वर्गीय बावुराम सिग्देलका सुपुत्र सुभाष सिग्देलले शिक्षा समाज विकासको मूल आधार भएको उल्लेख गर्दै सानो सहयोगले पनि विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत शैक्षिक क्षेत्रको विकास र गुणस्तर अभिवृद्धिकालागि आफ्नो परिवारले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभयो ।
लामो समय सम्म विराटनगर–५ सम्झना चोक जीवनयापन गरेर स्व. बावुराम सिग्देल परिवारसहित केही बर्षदेखी काठमाडौंमा बसोबास गर्दै आउनुभएको थियो ।
लामो समयदेखी मृगौला रोगबाट पीडित सिग्देलको ६८ बर्षको उमेरमा २०८१ चैत्र १५ गते काठमाडौंस्थित निवासमा निधन भएको थियो ।
सोही अवसरमा सिग्देलका भाई रमेश सिग्देलले विद्यालयमा एकलाख पाँच रुपैयाँको ‘डिल्लीप्रसाद–जोगमाया सिग्देल स्मृति अक्षयकोष’ समेत स्थापना गरिदिनुभएको छ ।
साे रकमबाट पनि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाईएको छ । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूको उपस्थिति थियो ।
कार्यक्रममा सहभागीहरूले यस्तो पहलले ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उन्नयनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।