आफ्नै फुटबल टिम तयार गरि गोल्डकप गर्दै बुढीगंगा

विराटनगर १७ चैत । मोरङको बुढीगंगा गाउँपालिकाले गोल्डकप आयोजना गर्ने भएको छ ।

आगामी चैत २१ देखि २७ गते सम्म बुढीगंगा २ अमाही खेलमैदानमा प्रथम बुढीगंगा गोल्डकप आयोजनाको तयारी गरिएको गाउँपालिकाले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

गाउँपालिकाले आफ्नै फुटवल टिम तयार गरि गोल्डकपको आयोजना गरेको हो । पछिल्लो एक वर्षदेखि गाउँपालिकाले फुटवल, भलिवल, कबड्डी र डोरीतान प्रतियोगिताका लागि खेलाडीलाई नियमित अभ्यास गराउँदै आएको छ ।

३२ जनाको फुटवलको टिमले व्यवसायीक रुपमा खेल्न थालेको गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले जानकारी  दिनुभयो ।

प्रतियोगितामा आयोजक बुढीगंगा गाउँपालिका, सलहेस फुटवल क्लव सिरहा, राजारानी फुटवल क्लव धनकुटा, धरान फुटवल क्लव सुनसरी, चाल्सा फुटवल क्लव झापा, आएफसी काठमाण्डौं, नाईजेरिजयन फुटबल क्लव र कञ्चनजंघा फुटवल क्लव सिलगुडी भारतको सहभागिता रहने कार्यक्रम संयोजक तथा वडा नं. २ का वडाध्यक्ष रेवतीनारायण चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन खेल आरएफसी काठमाण्डौं र सहलेस सिरहावीच हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार सहित ट्रफी मेडल, तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, हाईस्कोरर लगायतका विभिन्न विधामा पनि पुरस्कार दिईने कार्यक्रम संयोजक चौधरीले बताउनुभयो ।

गोल्डकप आयोजनामा करिव ३९ लाख खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले १२ लाख विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष अमृताकुमारी गच्छदारले बताउनुभयो ।

प्रतियोगिता आयोजनामा सहयोगका लागि विभिन्न संघ संस्था, उद्योगी व्यवसायी, छिमेकी स्थानीय तह र प्रदेश खेलकूद विकास बोर्ड समक्ष आग्रह गरिएको उहाँले बताउनुभयो ।

“तिन युगु, तिन नेतृत्व : विगत, वर्तमान र स्थानीय नेतृत्वको सम्मान” भन्ने नारा सहित आयोजना हुने गोल्डकपका लागि प्रवेश निशुल्क रहेको बुढीगंगा युवा परिषद्का सदस्य सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।