घर निर्माण प्रदर्शनी भव्य रुपमा सम्पन्न

विराटनगर १७ चैत । कोशी प्रदेशमा पहिलो पटक उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको ‘घर निर्माण प्रदर्शनी २०८२’ भव्य रुपमा सम्पन्न भएको छ ।

सोमबार आयोजित एक विशेष समारोहका बीच प्रदर्शनीमा सहभागी ८० भन्दा बढी स्टलमध्ये विभिन्न विधामा उत्कृष्ट ५ स्टललाई ‘एक्सिलेन्स अवार्ड’ प्रदान गर्दै कार्यक्रमको समापन गरिएको हो ।

चैत १२ देखि १६ गतेसम्म विराटनगरको जैन भवनमा भएको प्रदर्शनीमा उपभोक्ताहरूको अवलोकन, सामाजिक सञ्जालमार्फत गरिएको भोटिङ र निर्णायक समितिको मूल्यांकनका आधारमा उत्कृष्ट स्टलहरूको छनौट गरिएको थियो ।

कार्यक्रममा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले देशको वर्तमान आर्थिक अवस्थामा स्वदेशी उत्पादनको प्रवद्र्धन र सुस्ताएको बजारलाई चलायमान बनाउन यस्ता प्रदर्शनीले ठुलो टेवा पुर्याउने बताउनुभयो ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले काठमाडौं बाहिर पहिलो पटक आयोजना गरिएको यो घर निर्माण प्रदर्शनी पूर्ण रूपमा सफल भएको दाबी गर्नुभयोे । प्रदर्शनीमा भवन निर्माणसँग सम्बन्धित आधुनिक सामग्री, प्रविधि र स्थानीय उत्पादनहरूको वृहत प्रदर्शन गरिएको थियो ।

समापन कार्यक्रममा उद्योग संगठनका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरियो । सम्मानित हुनेमा संयोजक सुरेन्द्र गोल्छा, सदस्यहरू उकेश अग्रवाल, सौरभ सारडा, वीरेन्द्र राठी, किरण व्यास र सिद्धार्थ काबरा छन् । संगठनका कार्यक्रम अधिकृत अशु चौहानलाई ‘उत्कृष्ट कर्मचारी’ को रूपमा सम्मान गरियो ।