विराटनगर १३ चैत । नेपाल विजनेश कलेज विराटनगरका विद्यार्थीले सांगितिक च्यारीटी शो गर्ने भएका छन् । वीवीए सातौं सेमेष्टरका विद्यार्थीले आगामी चैत २७ गते विराटनगरको जैन भवनमा च्यारीटी शो गर्ने भएको हो ।
सांगितिक शोमा एमटी ८८४८ ब्याण्डको प्रस्तुती रहने कलेजले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । ब्याण्डका कलाकार सहितको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा वीवीए सातौं सेमेष्टरका विद्यार्थीहरुको प्रोजेक्ट वर्क अन्तरगत कार्यक्रम आयोजना गर्न लागेको कलेजले जनाएको छ ।
विद्यार्थीले सर्भे गरि ब्याण्डको टुङ्गो लगाएको कलेजकी निर्देशक पिंकी शर्माले जानकारी दिनुभयो । उहाँका अनुशार विद्यार्थीले गरेको सर्भेको आधारमा सवैभन्दा बढी रुचाईएको ब्याण्डमा एमटी ८८४८ रहेको थियो ।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन, प्रायोजक विद्यार्थी आफैले खोजेको निर्देशक शर्माले बताउनुभयो । कार्यक्रम आयोजनाबाट वचत भएको रकम विराटेश्वर बृद्धाश्रमलाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो । यसअघि वीवीए सातौं सेमेष्टरका विद्यार्थीले दुई संस्करणको च्यारीटी शो आयोजना गरिसकेका छन् ।
सन २०१४ मा लिंकन विश्वविद्यालय मलेसियाबाट सम्बन्ध पाएको कलेजले वीवीए, एमवीए, वीएचएम तथा विआईटिको पठन पाठन गराउँदै आएको छ कलेजका निर्देशक दीपक कोइरालाले जानकारी दिनुभयो । कलेजमा ३३८ विद्यार्थी अध्ययनरत छन् ।