कानेपोखरीमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

विराटनगर १२ चैत। मोरङको कानेपोखरीमा टिपरले ठक्कर दिँदा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । साइकलमा यात्रा गरिरहेका पुरुषको मृत्यु भएको हो ।

प्रहरीका अनुसार जहदाबाट कानेपोखरीतर्फ जाँदै गरेको को १ ख ६३३१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बिहान ७ः४० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको थियो ।

टिपरको ठक्करबाट साइकलमा यात्रा गरिरहेका कानेपोखरी गाउँपालिका–७ का ५८ वर्षीय वीरेन्द्र कार्कीको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याइएको थियो ।

अस्पताल पुर्याउनसाथ बिहान ८ः४० बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको जानकारी न्यौपानेले दिए ।

साइकल, टिपर र टिपर चालक कानेपोखरी–५ का २९ वर्षीय अभिषेक दर्जीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।