विराटनगर ११ चैत । इलामको सन्दकपुरमा तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ । वन, वन्यजन्तु र प्राकृतिक वातावरणको माध्यमबाट इलामको पर्यटन प्रवद्र्धन गर्न सन्दकपुर गाउँपालिकाको आयोजनामा चैत २० बाट २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव आयोजना हुने भएको हो ।
रेडपाण्डाको संरक्षणमा समुदायलाई सचेत गराउँदै हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताएको छ । आज विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा महोत्सव आयोजक समितिका संयोजक सनम राईले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तेश्रो रेडपाण्डा महोत्सव गर्न लागिएको बताउनुभयो । उहाँका अनुशार सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्र माईपोखरीबाट ढापपोखरी हुँदै जौबारी जोड्ने पदमार्गको प्रवद्र्धनका लागि महोत्सवका दुई संस्करण आयोजना भईसकेको छ ।
४३ किलोमिटर लामो पदमार्गको नाम रेडपाण्डा पदमार्ग रहेको छ । सो पदमार्गको प्रचारप्रसारका लागि महोत्सवको दुई सस्करण आयोजना भएको आयोजक समितिका संयोजक राई बताउनुभयो । ११ करोड बढी खर्चमा ५ वर्षमा निर्माण भएको पदमार्ग क्षेत्रमा लोपोन्मुख रेडपाण्डा सहितका वन्यजन्तु, सयौ प्रजातीका चाराको अध्ययन गर्न पाइन्छ । १५ बढी पर्यटकीय गन्तव्य रहेको रेडपाण्डा पदमार्गबारे जानकारी दिने र पर्यटनको व्यापारमा महोत्सव केन्द्रित हुने गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताउनुभयो । पदमार्ग भित्रका पर्यटकीय गन्तव्यहरुमा बढी भन्दा बढी पर्यटकहरु पुर्याउनु मुख्य उदेश्य रहेको गुरुङ्गले बताउनुभयो ।
सन्दकपुरमा रेडपाण्डा हेर्नकै लागी विश्वभरका पर्यटकहरु पुग्ने गरेका छन् । विश्व रामसार सुचिमा सुचिकृत माईपोखरीबाट, नेपालका प्राकृतिक ग्रेटवाल छिन्टापू, कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरहुँदै पूर्वको मुस्ताङ जौबारी जोड्ने पदमार्गमा नेपाल र भारतका पर्यटन व्यवसायीहरुको उपस्थितिमा महोत्सव आयोजना हुँदैछ । ४ दिनसम्म आयोजना हुने महोत्सव पुग्ने पर्यटकहरुले आदिवासी जनजातिको सस्कृति, सिमसार, पोखरीहरु, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथा सहित ६० बढी हिमश्रङ्खला, सयौँ प्रजातीका चराहरु, रेडपाण्डा सहितका लोपोन्मुख वन्यजन्तु अध्ययनसँगै पदयात्रा पनि गर्न पाउने आयोजकले बताएको छ ।
महोत्सवमा आन्तरिक र बाह्य गरि १० हजार पर्यटक सन्कपुरमा भित्र्याउने लक्ष्य रहेको छ । महोत्सवका प्रचारप्रसारका लागि विराटनगर, झापाको काँकरभिट्टा, पोखरा र काठमाडौँमा अन्तरक्रिया गरिएको छ । आयोजकले भारतको सिलिगुडीमा पनि अन्तरक्रिया गरिने बताएको छ ।