विराटनगर ९ चैत । मोरङमा पछिल्लो ८ महिनामा क्षयरोगबाट ३५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउन देखि फागुन सम्ममा सो संख्यामा क्षयरोगबाट मृत्यु भएको हो । गत आर्थिक वर्ष मा ४० जनाको मृत्यु भएको थियो ।
आ.व.२०८०–०८१ मा क्षयरोगका कारण ३० जनाले ज्यान गुमाएका थिए । मृत्यु हुनेमा १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरु रहेको स्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ अधिकृत मुलकचन्द राजवंशीले जानकारी दिनुभयो ।
विश्व क्षयरोग दिवसका अवसरमा आज स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजले संयक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा क्षयकुष्ठ अधिकृत राजवंशीले चालु आर्थिक वर्षको हालसम्म ९०९ जना क्षयरोगका संक्रमित रहेका छन् ।
गत आर्थिक वर्षमा १ हजार २२२ जना संक्रमित थिए । आ.व.२०८०–०८१ मा १ हजार १५० जना रहेको उहाँले बताउनुभयो । मोरङका सुन्दरहरैचा, पथरीशनिश्चरे, उर्लाबारी क्षेत्रमा क्षयरोगका संक्रमित बढी रहेको राजवंशीले बताउनुभयो । उहाँका अनुशार मोरङमा १७ वटै स्थानीय तहका १ सय २३ वटा सेन्टरबाट प्रत्यक्ष निगरानीमा निःशुल्क औषधि सेवन कार्यक्रम (डट्स) सेवा सञ्चालनमा रहेको छ ।
क्षयरोगका उपचार निःशुल्क रूपमा सरकारी स्वास्थ्य संस्थामा उपलब्ध रहेको वागमती समाज मोरङका परियोजना संयोजक रामप्रवेशकुमार महतोले बताउनुभयो । औषधि कम्तीमा ६ महिना वा चिकित्सकले तोकेको समयसम्म नियमित लिनुपर्ने र औषधि बीचमै छोड्दा रोग झन् गम्भीर हुने उहाँले बताउनुभयो ।
सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निवारण गर्ने सरकारको लक्ष्य रहेको छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छाैं, राष्ट्रिय अभियान, हाम्रो योगदान ।’ भन्ने नाराका साथ नेपालमा मंगलबार विश्व क्षयरोग दिवस मनाईदैछ ।