विराटनगर ७ चैत । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलले आज एक दिने ‘कुशल अभिभावकत्व’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय र अभिभावकलाई जोडेर विद्यार्थीहरूको सर्वाङ्गीण विकास र हकहितका लागि कार्य गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका बारेमा जानकारी दिँदै विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले आफ्ना नानीबाबुहरूको पढाइ र भविष्यका लागि विद्यालयसँगै अभिभावक पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘अभिभावक र विद्यालयको सहकार्यले मात्र विद्यार्थीको शैक्षिक स्तर सुधार्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।’
काठमाडौंबाट आएका प्रशिक्षक शैलेन्द्र खरेलले कार्यक्रमको सहजिकरण गरेका थियो । प्रशिक्षक खरेलले उपस्थित अभिभावकहरूलाई बालबालिकाको सुरक्षा, स्वास्थ्य, संस्कार, शिक्षा र सृजनशीलताका विषयमा महत्वपूर्ण जानकारी गराए । उनले घरको वातावरण र अभिभावकको व्यवहारले बालबालिकाको सिकाइमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा समेत प्रकाश पारे ।
कार्यक्रममा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीका १ हजारभन्दा बढी अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । सो अवसरमा अभिभावकहरूले विद्यालयले आयोजना गरेको यस किसिमको सचेतनामुलक कार्यक्रमले बालबालिकालाई बुझ्न र उनीहरूको भविष्य निर्माणमा सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए ।