विराटनगर महानगरपालिकामा तीनवटा गणनास्थल थपियो, नौवटाबाट गणना सुरु

विराटनगर, २ जेठ । विराटनगर महानगरपालिकामा तीनवटा मतगणनास्थल थप गरिएको छ । तीनवटा थप गर्दै नौवटाबाट गणना गर्न थालिएको हो । यसअघि छवटाबाट मात्रै हुँदा गणना केही सुस्तजस्तो देखिएको थियो ।

मतगणनालाई तीव्रता दिन गणनास्थल थप गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार केही सुस्तजस्तो देखिएको गणनाले गणनास्थल थपिएपछि भने गति लिने छ । विराटनगरको मतगणना आदर्श विद्यालयमा भइरहेको छ । सीसी क्यामेराको निगरानीमा रहेको गणनास्थललाई तारजालीले घेरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहान निरीक्षण एवं अनुगमन गर्दै गणनास्थल थप गर्न निर्देशन दिनु भएको थियो । मुख्य निर्वाचन अधिकृत भरत लम्सालले थपलियाको निर्देशनसँगै थप तीनवटा कोठामा मतगणनाको प्रवन्ध गरिएको जानकारी दिनु भयो । एकैसाथ नौ स्थानबाट गणना गर्दा वैशाख ६ गतेभित्रमा विराटनगर महानगरको नतिजा सार्वजनिक गर्न सकिने अनुमान रहेको लम्सालले बताउनु भयो ।

पहिलो चरणमा विराटनगर १, २, १६, १७, १८ र १९ नम्बर वडाको गणना गरिएको थियो । १६, १७, १८ र १९ नम्बर वडाको अन्तिम मतपरिणाम आइसकेको छ । विराटनगर–१६ मा कांग्रेस, १७ मा जसपा, १८ मा स्वतन्त्र र १९ मा एमालेका उम्मेदवार निर्वाचित भइसकेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी बुढाथोकीका अनुसार अहिले विराटनगर –१, २, ३, ४, ५, १३, १४, १५ को गणना भइरहेको छ । १८ को गणना सकिएका कारण अब वडा नम्बर ६ वा १२ मध्ये एउटाको गणना सुरु गर्ने तयारी रहेको बुढाथोकीले बताउनु भयो ।