प्रकाशित : १५ चैत्र २०७४, बिहीबार १३:३४


विराटनगर , १५, चैत । विराट गोल्डकप फुटबल प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ खर्च गरेर फल्डलाइट जडान गरिएको छ ।
दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिता हुने भएपछि त्यसका लागि विराटनगरको सहिद रंगशालामा ३६ हजार वाट क्षमताको फ्लडलाइट जडान गरिएको हो ।
गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालका अनुसार मोफसलमै पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना हुन लागेको बताए । प्रतियोगिता चैत १७ बाट २६ गते सम्म हुँदैछ । रिजालले रात्रिकालीन प्रतियोगिताका लागि आवश्यक पर्ने लाइट जडान गरेर त्यसको प्रकाश (फक्स) मिलाउने काम भइरहेको जानकारी दिनुभयो ।
छ वटा पोलमा लाइट जडान गरिएका छन् । प्रत्येक पोलमा कम्तीमा २० वटा वत्ती छन् । ‘रातको समयमा खेल हुने भएका कारण रातिलाई पर्याप्त प्रकाश होस भनेर एउटा पोलमा कम्तीमा २० वटा वत्ती जडान गरिएको छ,’ रिजालले भन्नुभयो। आवश्यक परे अरु वत्ती पनि पछि थप गरिने जानकारी उनले दिए । उनका अनुसार प्राविधिकको सल्लाह बमोजिम लाइट जडान गरिएको बताउनुभयो।
आयोजक समितिका उपाध्यक्ष सन्तोश वानियाका अनुसार लाइट जडानका लागि कोलकाताबाट प्राविधिक टोली झिकाइएको थियो । उहाँले प्रतियोगिताका लागि मैदान घेराबारा लगायत व्यवस्थापनका अधिकांस काम सकिएको बताउनुभयो। ‘यस पटकको प्रतियोगिता पहिलेको भन्दा भिन्न र पृथक हुने छ,’ वानियाले भने, ‘रात्रिकालीन खेल मोफसलमै पहिलो पटक आयोजना हुँदै छ ।’ उहाँका अनुसार प्रतियोगिता उद्धघाटन अघि एकै पटक १४ वर्ष मुनीका ५० जना बाल खेलाडीसंग १० जना सिनियर खेलाडीले प्रतिष्प्रधा गर्ने छन् ।
गोल्डकपमा उद्धघाटनका दिन ५ः३० बजेदेखि र त्यसपछि प्रत्येक दिन ६ बजेपछि खेल खेलाइने छ । प्रतियोगिताका लागि नेपालका आठ र विदेशका दुई गरेर १० वटा टिमले सहभागिता जनाउने छन् । पूर्वघोषित भारतको सिक्किम युनाइटेड क्लब नआउने भएको छ । त्यस अघि बंगलादेश स्पोर्टिङ क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउन नसक्ने जानकारी आयोजकलाई गराइसकेको छ । आयोजकले त्यसपछि सिक्किमलाई बोलाए पनि सिक्किम समेत नआउने भएको हो । उसका ठाउँमा नेपालकै संकटा क्लब आउने भएको छ ।
भारतको मोहमडन स्पोर्टिङ क्लब र भुटानको थिम्पु फुटबल क्लब मात्रै विदेशी टिमका रुपमा गोल्डकपमा सहभागिता जनाउँदैछन् । प्रतियोगितामा नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, संकटा, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर आठवटा टिम सहभागी हुँदैछन् ।
२०७२ सालको प्रतियोगिताको उपाधि नेपाल पुलिसको जितेको थियो ।