प्रकाशित : २४ माघ २०७४, बुधबार १४:५६


विराटनगर, २४ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम साँझ ६ वजे भित्र घोषणा गरिने भएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले निर्वाचन सम्पन्न भएको ३ घण्टाभित्रमा अन्तिम मत परिणाम सार्वजनिक गरिने बताउनुभयो ।
प्रदेश नं १ मा बहुमतिय प्रणालीको सिटका लागि मात्र मतदान भएको छ । दलित र अल्पसंख्यक सिटका लागि मात्र मतदान भएको हो । बहुमतिय प्रणाली अन्र्तगत भएकाले पहिलो हुने नै निर्वाचित हुने छ ।
प्रदेश नं १ मा दलितबाट बाम गठबन्धनको तर्फबाट एमालेका खेम नेपाली र नेपाली काँग्रेसका बिन विश्वकर्मा तथा अल्पसंख्यकमा एमालेका अगमप्रसाद बान्तवा र नेपाली काँग्रेसका महेश जाजु चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।
निर्वाचनमा ९३ जना प्रदेशसभा सदस्य र २ सय ७३ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहेका छन् । प्रदेश नं १ मा एमालेबाट १ सय ५४ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छ भने प्रदेश तर्फ ५१ जना रहेका छन् । जुन कुल मतको ५५.५६ प्रतिशत हो ।
माओवादी केन्द्रको १६ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश तर्फ १५ जना छन् । एमाले र माओवादीका दुवै मत मिलाउँदा ६६.२८ प्रतिशत मत बामगठबन्धनका उम्मेदवारलाई जाने देखिन्छ ।
लिम्बुवान सांसदको बहिस्कार
राष्ट्रियसभा निर्वाचनमा लिम्वुवानका सांसदले मतदान गरेनन् । एक सांसद रहेको संघीय लिम्बुवान मञ्चले भने मतदान नगर्ने जनाएको थियो ।