प्रकाशित : ४ माघ २०७४, बिहीबार १८:४७


विराटनगर, ४ माघ । मोरङको ग्रामथान गाउँपालिका ६ खोरियाटोलमा आज दिउँसो बम विष्फोट भएको छ । दुर्गाबहादुर रोक्काको खेतको बीचमा लुकाएर राखेको बम विष्फोट हुँदा छोरा १८ वर्षीय एकराज रोक्का गम्भीर घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताउनु भयो । घाइतेको अनुहार र मुखमा चोट लाग्नुका साथै अगाडिका दुईवटा दाँत भाँचिएका छन् ।
रोक्काको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार खेतमा तोरी उखेल्दै गर्दा एकराजले टिनको बट्टामा टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु फेला पारेका थिए । बट्टामा बाँधेको वस्तु खोलेर हेर्ने क्रममा विष्फोट भएको प्रहरीले जनाएको छ । एकराजसंगै अन्य चार जना पनि तोरी उलेल्ने काम गरिरहेका थिए । प्रहरीका अनुसार विष्फोटमा परेर घाइते भएपछि काम गरिरहेका अन्यले उपचारका लागि उनलाई अस्पताल पुर्याएका थिए ।
बिसीका अनुसार डिब्बा बम विष्फोट भएको हो । घटनास्थलमा अन्य दुईवटा बम पनि फेला परेका थिए । बमलाई मोरङको थलाहाबाट पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले दिउँसो २ बजे डिस्पोज गरेर अन्य क्षति हुनबाट जोगाएको छ । एसपी बिसीले लुटपाट, चन्दा असुली लगायतका अपराधिक समूहमा आवद्ध भएकाले सुनसान ठाउँमा बम राखेको हुन सक्ने बताउनु भयो ।
बम राख्ने समूहको पहिचान भइनसकेका कारण खोजी तीव्र बनाएर घटनाको गम्भीर रुपमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यसैबीच नोवेल मेडिकल कलेजमा उपचार गराईरहेका घाइतेको फोटो खिच्न पुगेका संचारकर्मीलाई त्यहाँका स्वास्थ्यकर्मी र कर्मचारीले दुरव्यवहार गरेका छन् ।
उपचारका लागि अस्पतालमा राखिएका घाइते रोक्काको फोटो खिच्ने क्रममा दन्त रोग विभागका स्वास्थ्यकर्मीले संचारकर्मीको क्यामेरा नियन्त्रणमा लिने प्रयास गर्दै फोटो मेटाउन दवाव दिएका थिए । उनीहरुले अस्पताल पत्रकारको घर नभएको भनेर दुरव्यवहार गर्दै फोटो खिच्नका लागि आगामी दिनमा नआउन चेतावनी दिए ।
अस्पतालका प्रवन्ध निर्देशक सुनिल शर्माले भने नजानेर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गल्ती गरेको बताउँदै आगामी दिनमा यस्तो कमिकमजोरी दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।