Breaking News

बक्राहा बाढी पीडितहरु निर्वाचनबारे अनभिज्ञ

प्रकाशित मिति : ४ मंसिर २०७४, सोमबार १९:०२

विराटनगर, ४ मंसिर । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको माहोल तातिरहेका बेला मोरङको मिक्लाजुङ गाउँपालिका ६ वेतिनीका बाढी पीडितहरु भने यस विषयमा अनभिज्ञता प्रकट गर्छन ।

नुनसरी –बक्राहा खोलामा आएको बाढीका कारण २०७२ साल असार ७ गते विस्थापित भएर मिक्लुङ सामुदायिक वनको चउरमा टहरो बनाएर बसेका बाढी पीडितलाई निर्वाचनका बारेमा कुनै पनि जानकारी छैन । निर्वाचनमा पूरै मुलुक होमिएका बेला विस्थापित बसेका टहरोमा चुनावको कुनै पनि रौनक नै छैन । अहिले सम्म चुनावी अभियान लिएर कुनै पनि दलका नेता र उम्मेदवारहरु नपुग्दा विस्थापित भएर बसेकाहरुमा चुनाव सम्बन्धी उत्साह छैन ।

स्थानीय मानबहादुर गोलेले स्थानीय निर्वाचनमा दिएको आश्वासन अहिले सम्म पूरा गर्न कुनै पनि पहल नगरेका कारण लाजले नेताहरु भोट माग्न नआएको हुन सक्ने बताउनु भयो । स्थानीय मनिला तामाङका अनुसार स्थानीय निर्वाचनका बेलामा भोट माग्न आउने नेताहरुले वासस्थानको व्यवस्था गरिदिने देखि लिएर जग्गा दिने सम्मको आश्वासन बाँडेका थिए । तामाङले भोटका लागि आश्वासन बाँड्दै आएका नेता चुनाव जितेर गएपछि फर्किएर नआएको गुनासो पनि गर्नु भयो । उहाँले अहिले सम्म चुनावी कार्यक्रम लिएर कोही पनि नआएका कारण चुनाव आएको हो की हैन भन्ने कुरा नै थाहा नभएको बताउनु भयो ।

स्थानीय नरकुमार दर्जीले बाढीले सुकुम्बासी बनाएर कष्टकार जीवन विताइरहेकालाई उपयुक्त वासस्थान र जग्गाको व्यवस्था गरिदिनेलाई मात्रै भोट दिने निर्णय विस्थापितहरुबीच भएको बताउनु भयो । विस्थापित मध्येकी सिर्जना अधिकारीले स्थानीय निर्वाचनमा खोलो नियन्त्रण गरेर घर, जग्गा, तत्कालका लागि खानपीन र स्वास्थ्य विमाको व्यवस्था गरिदिन्छौं भनेर भोट माग्न आएका नेताहरु नै त्यसपछि गायव भएको बताउनु भयो । उहाँका अनुसार चुनाव आयो भन्छन् तर भोट माग्न कोही आएका छैनन् । मिक्लाजुङ मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ ।

कांग्रेसकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार डिगबहादुर लिम्बूले बाढी पीडितको समस्या पार्टी र आफूले बुझिरहेको बताउनु भयो । वाम गठबन्धनका उम्मेदवार घनश्याम खतिवडाले बाढी पीडित सामु एजेन्डा सहितको चुनावी कार्यक्रम लिएर जाने तयारी भइरहेको बताउनु भयो । उहाँले पीडितलाई घर, गरिखाने जग्गा, तत्कालका लागि खानपीन र स्वास्थ्य विमाको व्यवस्था गर्ने जिम्मा गठबन्धन र आफूले लिइसकेको बताउनु भयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३