Breaking News

लालबाबुका साहसिक काम

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार १४:३१

सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री थिए । एक दिन मन्त्रिपरिषद् बैठकको ठीक अघि पण्डितले प्रधानमन्त्रीसँग १० मिनेटको समय मागे । कोइरालाले पण्डितलाई खबर पठाए, ‘हुन्छ, आउनुहोस् ।’

प्रधानमन्त्रीको बैठक कोठामा सुरक्षा अधिकृत र केही सहयोगी थिए । पण्डितले प्रधानमन्त्रीसँग ’वान टु वान‘ कुरा गर्न चाहेको बताए । सुशीलले इशारा गरेपछि अरु सबै बाहिरिए ।

‘तपाई बिहे गर्ने हो ?’ पण्डितले सुशीललाई सोधे । ‘के भनेको रु’ सुशीलले च्याँठिदैं प्रतिप्रश्न गरे । ‘बिहे पनि नगर्ने सन्तान पनि नजन्माउने भए भविष्यप्रति तपाईको के को लोभ ?’ पण्डितले अर्काे प्रश्न थपे । ‘मलाई के को लोभ रु’ कोइरालाले प्रश्नमा प्रश्न थपे । ‘तपाईको देशबाहेक सोच्नुपर्ने अरु केही छ ?’ पण्डितले फेरि प्रश्न गरे । कम बोल्ने सुशीलले जवाफ फर्काए, ‘छैन ।’

पण्डितले त्यसपछि सोझै प्रस्ताव गरे, ‘त्यसो भए डिभीपिआर लिन नपाउँने गरी निजामति कर्मचारी ऐन संशोधन गर्न तपाईले आँट गर्नुपर्याे ।’

पण्डितले बुझिसकेका थिए सादगी भएपनि सुशील परिवन्दमा परेका थिए । उनकी स्वकीय सचिव मृदुला कोइराला आफैं ग्रिनकार्डधारी थिइन् । काँग्रेसका नेता र मन्त्री आफैँ विदेशको ग्रिनकार्ड र पिआर बोकेर हिडिरहेका थिए ।

सुशीललाई मन्त्रिपरिषद्मा सो व्यवस्था कुनै पनि हालतमा राख्न नहुने भनेर काँग्रेसका मन्त्रीहरुले र्यााख्रर्यानख्ती पारेको उनले आफ्नै आँखाले देखेका थिए । ‘एक दिन म बालुवाटार गएको थिएँ । प्रधानमन्त्रीलाई त सबैले घेरिराखेका रहेछन् । कुनै पनि हालतमा मान्न नहुँने भन्दै उनीहरुले प्रधानमन्त्रीलाई औँला सोझाइरहेका थिए ।’ पण्डितले परिस्थिति कति गम्भीर थियो भन्ने औल्याँदै भने, ‘त्यो गोप्य वार्तामा सुशीलजीले साथीहरुको गुनासो छ । तर, म तपाईको साथमा छु भन्नुभयो ।’ पण्डितले राष्ट्रवादी प्रधानमन्त्रीका लागि यो ऐतिहासिक अवसर भएको भन्दै तर्क गरे । तर्कविर्तक गर्न नचाहने सुशीलले दोहोर्या ए, ‘भनिहाले नि म तपाईको पक्षमा छु । म गर्छु ।’ पण्डितले प्रश्न थपे, ‘आजैको बैठकबाट पास गर्नुहुन्छ ?’

गोप्य बैठक सकिएपछि सरासर दुबै मन्त्रिपरिषद् बैठकमा गए । प्रायजसो मन्त्री आइसकेका थिए । बैठक शुरु भयो । एकपछि अर्काे मन्त्रालयका प्रस्ताव पारित हुँदै गए । अन्तिममा सुशीलले सामान्य प्रशासन मन्त्रालयको प्रस्तावका बारेमा बोल्न पण्डितलाई आग्रह गरे । पण्डितले प्रस्ताव राखे ।

अर्थमन्त्री डाक्टर रामशरण महत जुरुक्क उठे । उनले ‘कुनै पनि हालतमा प्रस्ताव पारित हुन नसक्ने’ जिकिर गरे । त्यसपछि सञ्चारमन्त्री मिनेन्द्र रिजाल उठे । उनले भने, ‘प्रधानमन्त्रीज्यू, यो मन्त्रिपरिषद्को प्रमुख को रु तपाई की पण्डित रु पटकपटक एउटै कुरा ।’ त्यसपछि एनपी साउँद उठे र भने, ‘यसले लाखौं नेपालीलाई चिढ्याउँछ ।’ एमालेका तर्फबाट सरकारमा नेतृत्व गरेका उपप्रधान तथा गृहमन्त्री बामदेब गौतम पनि उठे । उनले पनि महत र रिजालकै पक्षमा धारणा राखे ।

सबैको धारणा सकिएपछि सुशील कोइराला एक छिन केही बोलेनन् । पण्डितको मनमा चिसो पस्यो, ‘अघिको सल्लाहले काम नगर्ने हो कि रु’ सुशीलले निर्णय सुनाए, ‘धेरै कुरा भइसक्यो यो बारेमा । आज पास गरिदिऊँ । पास भयो ।’

प्रधानमन्त्रीको छेवैमा थिए मुख्यसचिव लिलामणि पौड्याल । उनको मुहारमा चमक आयो । उनले बेग गतिमा कलम चलाउन थाले । त्यसपछि प्रधानमन्त्री उठे ।

प्रधानमन्त्रीसँगको त्यो वार्ता

प्रधानमन्त्रीमाथि सबैभन्दा बढी दबाब आफ्नै घेराबाट थियो । दिनरात उनलाई सो प्रस्ताव अस्विकृत गर्न सुझाब र चेतावनी आइरहन्थ्यो । सचिवालयमा बसेकैहरुले भन्थे, ‘हाम्रो राजनीति धरापमा पर्छ ।’ प्रधानमन्त्रीको भित्री मन पास गर्ने भन्ने थियो तर बाहिर उहाँलाई दबाब थियो । पण्डित भन्छन्, ‘त्यो दिनको बैठक एकदमै सार्थक रह्यो । समकालिन नेतामा भित्र जे हो बाहिर त्यही भएको सापेक्षित आर्दश व्यक्तिका रुपमा मैले उहाँलाई बुझेको छु ।’

महतको मलिन अनुहार

लालबाबु पण्डित उतिसारो पठित होइनन् जति रामशरण र मिनेन्द्रहरु हुन् । पण्डितसँग मन्त्रालय सम्हालेको अनुभव पनि थिएन । महत पटकपटक मन्त्री भइसकेका थिए । मन्त्रिपरिषद्को सुरुवाती बैठकमा महत यसरी कुरा राख्थे की अरुले केही जानेको छैन । एकदिन महतले भने, ‘नयाँ मन्त्रीले पुरानाको फ्लो गर्नुहोला । धेरै स्मार्ट हुन नखोज्नुहोला ।’ नयाँ मन्त्री पण्डितलाई महतको कुराले चस्स बिझायो । महतले पण्डितलाई ज्वाईं भन्थे । महत थरकी बिमलासँग बिहे भएकाले ज्वाईं भनिएका पण्डितले डिभी पिआर लिने नेता र कर्मचारीका बिरुद्धमा कुरा उठाएपछि महत बोल्नै छाडे । मन्त्रिपरिषद्मै भनाभन भयो ।

अमेरिका पुगेका महतले त्यसैबेला घोषणा गरेका थिए, ‘लालबाबुले ल्याएको प्रस्ताव कुनै पनि हालतमा पारित हुंने छैन ।’ लालबाबुलाई शुरुशुरुमा सञ्चार माध्यमले उतिसारो मतलब पनि गरेका थिएनन् । अन्तरवार्ता लिइहाले उनलाई सोधिन्थ्यो, ‘काँग्रेसले डाक्टरहरुलाई मन्त्री बनायो । उनीहरुसँग बहश गर्न तपाईहरु जस्तो अनुभव र डिग्री नभएकाले सक्नुहुन्छ रु’ टिप्पणी पनि लेखियो काँग्रेस र एमालेका मन्त्रीहरुको तुलना गरेर ।

एकातिर मन्त्रिपरिषद्मा महत र उनीजस्तै डाक्टरहरुको चुरीफुरी अर्काेतिर बाहिर यस्ता टिप्पणी । पण्डितलाई केही नयाँ गर्ने अठोट थियो । उनले डिभीपिआर लिने कर्मचारीका बिरुद्ध बहश छेडे । यसले महतलाई साह्रै घोच्न थाल्यो । अन्ततः आफ्नै दलका प्रधानमन्त्रीले प्रस्ताव पास भनिदिएपछि महतको मुख मलिन भयो । त्यसपछि महत र पण्डित मन्त्रिपरिषद्मा दुई ध्रुब जस्ता रहे ।

पीटर बोडे र रञ्जित रेसँगको रसाकसी

अमेरिकी राजदूत पीटर बोडेले कर्मचारी ऐन संशोधनका बारेमा पटक पटक चासो राखे । पण्डित तयारीका साथ प्रस्तुत हुन्थे । अमेरिकाकै उदाहरण दिन्थे ।

भारतीय राजदूत रन्जित रेले जिज्ञासा राखे, ‘भारतको रासनकार्ड लिएकालाई पनि सो नियम लागू हुन्छ रु’ पण्डितले भनिदिए, ‘रासन कार्ड भनेको त नागरिकता जस्तै हो, त्यस्तालाई त झन् लाग्छ ।’ रन्जितले भेटका लागि समय मागे । उनले परराष्ट्रसँग समन्वय गरेर आउन सुझाए । प्रधानमन्त्रीलाई समेत चाहेको बेलामा सरासर भेट्न बानी परेका रेले अफ्ठयारो मान्दै ‘ओके’ भने ।

परराष्ट्रले रेका लागि पण्डितसँग समय माग्यो । कुटनीतिक प्रक्रिया पूरा गरेर भेट्न आएका रेले नेपाल भारतको सम्बन्धको विशिष्टताका बारेमा व्याख्या गर्न थाले । २२ मिनेटको संवादपछि पण्डितले कडा प्रश्न गरे, ‘नेपालको बिमानस्थल हुँदै रअ को प्रमुख अमेरिका भागेको याद छ नि रु’ रेले आफूलाई थाहा भएको जनाउँन मुन्टो हल्लाए । ‘जासुश प्रमुख नै बिदेश भाग्दा कस्तो लाग्यो रु’ पण्डितले प्रश्नमार्फत प्रहार गरे । रेले सो घटनाले आफूहरुको चित्त दुखेको प्रतिक्रिया दिए । यस्तै घटना नेपालमा पनि नहोस् भनेर आफूले ऐन संशोधन गर्न चाहेको पण्डितले प्रष्टिकरण दिए । त्यसपछि रे बाहिरिए । बोडेदेखि रेसम्म, महतदेखि मृदुलासम्मलाई चिढाएर कोइरालाले प्रस्ताव पारित गरेका थिए ।

कोइरालाको रहस्यमय निधन

सामान्य प्रशासन मन्त्री रहेका बेला पण्डितले पूर्व प्रशासकहरुको गोष्ठी राखे स्टाफ कलेज जावलाखेलमा । सो गोष्ठीको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्रीलाई निम्ता गरिएको थियो । प्रधानमन्त्री सुशील कोइरालाले उत्साहित हुँदै भेनका थिए, ‘गज्जब गर्नुभयो । यस्तो आइडिया राम्रो ।’

कार्यक्रम शुरु हुनुपूर्व बालुवाटारबाट सूचना आएको थियो, ‘प्रधानमन्त्री आउँदै हुनुहुन्छ ।’ केही बेरमा सुशील आफैंले पण्डितलाई फोन गरे । उनले भने, ‘सरी, मलाई आउन गाह्रो भयो । आउँछु भन्दा भन्दै त्यस्तै भयो ।’ प्रधानमन्त्रीसँगको संवादपछि पण्डितले बुझे, प्रधानमन्त्रीलाई कार्यक्रममा आउन नदिनका लागि भित्रियाहरुले भुमिका खेले । पण्डित भन्छन्, ‘सादगी नेतालाई सहकर्मी र सचिवालयबाट धेरै असहयोग थियो ।’

साँझसम्म सरसाउँदा रहेका कोइराला मध्यरातमा दिवंगत भएको खबर फैलियो । खबर थाहा पाउँदा बित्तिकै पण्डितको मनमा आंशका पैदा भयो, ‘कतै त्यही प्रस्ताव पारित गरेकै कारण कुनै षडयन्त्र त भएन रु’ कोइरालाको निधन अस्वभाविक भएको भन्दै काँग्रेस केन्द्रीय समिति बैठकमा कुरा पनि उठ्यो । त्यो त्यत्तिकै सेलायो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३