Breaking News

१८ सिटका लागि १६९ जनाको प्रतिष्पर्धा

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार १४:२०

विराटनगर, २० कात्तिक । प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ १२ निर्वाचन क्षेत्र रहेको मोरङमा १ सय ६९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गरी निर्वाचन प्रचार सुरु गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फ १८ जना निर्वाचित हुने जिल्लामा करिब दुई उम्मेदवारहरु चुनाबी मैदानमा भएपनि प्रतिष्पर्धा भने मोरङको क्षेत्र नं. ५ बाहेक सबैतिर बाम गठबन्धन र नेपाली काँग्रेसका उम्मेदवारबीच हुने देखिन्छ ।

क्षेत्र नं. ५ मा भने संघीय समाजवादी फोरम पनि बलियो रहेकोले त्रिपक्षीय प्रतिष्पर्धाको अनुमान गरिएको छ । यद्यपी गत स्थानीय तहको मत अनुसार क्षेत्र नं. ४ र ६ मा नेपाली काँग्रेस र अन्य सबै क्षेत्रमा बाम गठबन्धन ठूलो मतान्तरसहित अगाडि रहेको छ । तर क्षेत्र नंवर ६ को नतिजा यस पटक उल्टने देखिएको छ । ९ वर्ष संविधान सभा र व्यवस्थापिका संसदमा विताएका शेखर कोइरालाले यहाँका जनताका लागि केही नगरेको भन्दै रुष्ट बनेका छन् । लालबाबु पण्डितले कोइरालालाई सजिलै पछार्ने देखिएको छ ।

प्रतिनिधिसभाजस्तै प्रदेशसभातर्फका १२ निर्वाचन क्षेत्रममध्ये पनि दुई तिहाई क्षेत्रमा बाम गठबन्धन अगाडि रहेको देखिएको छ । १२ निर्वाचन क्षेत्रमध्ये ८ क्षेत्रमा बाम गठबन्धन अगाडि छ भने नेपाली काँग्रेस ३ र संघीय समाजवादी फोरम १ स्थानमा बलियो देखिएको छ ।

प्रदेशसभातर्फ क्षेत्र नं. १ को दुबै, २ को दुबै, ३ को दुबै, ५ (१) र ६(२) मा बाम गठबन्धन बलियो देखिएको छ । यस्तै क्षेत्र नं. ४ को दुबै र क्षेत्र नं. ६(१) मा नेपाली काँग्रेस बलियो रहेको छ । क्षेत्र नं. ५(१) मा भने संघीय समाजवादी फोरम बलियो देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षहरुले पाएको मत विश्लेषण गर्दा क्षेत्र नं. १(१) मा बाम गठबन्धनको १६ हजार ७ सय १८ र काँग्रेसको ११ हजार ४ सय ५० मत रहेको छ । सो क्षेत्रमा बाम गठबन्धनबाट माओवादी केन्द्रका कुलप्रसाद साम्बा र काँग्रेसबाट ललित अधिकारी उम्मेदवार छन् । क्षेत्र नं. १(२) मा बाम गठबन्धनको मत १६ हजार ४ सय ५२ छ भने काँग्रेसको १२ हजार १ सय ७६ रहेको छ । सो क्षेत्रमा बाम गठबन्धनबाट एमालेका उपेन्द्र घिमिरे र काँग्रेसबाट इश्वरी कोइराला उम्मेदवार छन् ।

यसैगरी क्षेत्र नं. २(१) मा बाम गठबन्धनको १३ हजार ६ सय ५७ र काँग्रेसको ११ हजार ३ सय ११ मत रहेको छ । सो क्षेत्रमा बाम गठबन्धनबाट माओवादी केन्द्रका गणेश उप्रेती र काँग्रेसबाट शिवनारायण गनगाई उम्मेदवार बनेका छन् । क्षेत्र नं. २(२) मा बाम गठबन्धनको मत १४ हजार ८ सय ८३ र काँग्रेसको ११ हजार ४० मत छ । सो क्षेत्रमा बाम गठबन्धनबाट एमालेका लिलाबल्लभ अधिकारी र काँग्रेसबाट फडिन्द्रबहादुर कुँवर उम्मेदवार छन् ।

प्रदेशसभाकै निर्वाचन क्षेत्र नं. ३(१) मा बाम गठबन्धनको २१ हजार २५ र काँग्रेसको १० हजार १ सय ७८ मत रहेको छ । सो क्षेत्रमा बाम गठबन्धनबाट माओवादीकी गिता तिम्सिना र काँग्रेसबाट सुर्यमा राज राई उम्मेदवार बनेका छन् । क्षेत्र नं. ३ कै २ मा बाम गठबन्धनको २१ हजार ६ सय ३३ र काँग्रेसको १२ हजार १ सय २८ मत रहेको छ । सो क्षेत्रमा बाम गठबन्धनबाट एमालेका राजकुमार ओझा र काँग्रेसबाट ललितबहादुर श्रेष्ठ उम्मेदवार छन् ।

यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं. ४(१) मा बाम गठबन्धनको १३ हजार ७ सय ३८ र काँग्रेसको १५ हजार १ सय ७५ मत रहेको छ । सो क्षेत्रमा बाम गठबन्धनबाट माओवादीका विजय विश्वास थारु र काँग्रेसका भक्तिनाथ माझी उम्मेदवार छन् । माझी फोरम लोकतान्त्रिकबाट काँग्रेसमा प्रवेश गरेका हुन् । क्षेत्र नं. ४(२) मा बाम गठबन्धनको ९ हजार २ सय ७७ र काँग्रेसको ९ हजार ९ सय ६८ मत छ । सो क्षेत्रमा बाम गठबन्धनबाट एमालेका जिवन घिमिरे र काँग्रेसका विश्वनाथ रिजाल चुनाबी मैदानमा उत्रिएका छन् ।

प्रदेशसभा क्षेत्र नं. ५(१) मा बाम गठबन्धनको १२ हजार १ सय ५४, काँग्रेसको ८ हजार ७ सय ४४ र संघीय समाजवादीको ४ हजार ५ सय ४४ मत छ । सो क्षेत्रमा बाम गठबन्धनबाट एमालेका ज्ञानेश्वर राजवंशी, काँग्रेसका सुकदेवप्रसाद मण्डल र संघीय फोरमका विजयकुमार सिंह उम्मेदवार बनेका छन् । क्षेत्र नं. ५(२) मा बाम गठबन्धनको ८ हजार १ सय ७, काँग्रेसको ७ हजार ६ सय ९७ र संघीयको ९ हजार २ सय ६० मत छ । सो क्षेत्रमा बाम गठबन्धनबाट माओवादीका सुभान मियाँ, काँग्रेसका राजेशकुमार गुप्ता र संघीयका जयराम यादव उम्मेदवार छन् ।

क्षेत्र नं. ६(१) मा बाम गठबन्धनको १७ हजार ४ सय २६, काँग्रेसको २० हजार ३ सय ७७ र संघीयको २ हजार १९ मत छ । सो क्षेत्रमा बाम गठबन्धनबाट माओवादीका जिवन आचार्य, काँग्रेसका चुमनारायण तवदार र संघीयका निरा भगत उम्मेदवार बनेका छन् । क्षेत्र नं. ६ (२) मा बाम गठबन्धनको ८ हजार ९ सय ५४, काँग्रेसको ७ हजार १ सय २६ र संघीयको ३ हजार ८ सय २२ मत छ । सो क्षेत्रमा बाम गठबन्धनबाट एमालेको रमेश पोखरेल, काँग्रेसका केदार कार्की र संघीयका श्यामकुमार कामत उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३