Breaking News

कामकाजी केदारलाई सरकारले बनायो ‘माग्ने बुढा’

प्रकाशित मिति : ७ कार्तिक २०७४, मंगलवार १५:४१

‘ग्वार्काे चोकबाट एक किलोमिटर इमाडोलतर्फ आउने । त्यहाँ ‘किरण केसीको घर कहाँ ?’ भनेर सोध्ने । सबैले देखाइदिन्छन् । किरण केसीको घरबाट सोझै अघि बढेपछि ठोक्किने घर मेरो हो ।’ हास्य कलाकार माग्ने बुढाले यसरी आफ्नो घरको ‘लोकेसन’ दिएका थिए तर उनले भनेजस्तो सजिलै इमाडोलको त्यो घर भेटिएन । दूरी छोटो भए पनि नागबेली आकारको बाटोमा ‘पजल’ खेलेजस्तै घरि यता र घरि उता गर्दै हामी उनको निवाससम्म पुगेका थियौं ।
घरको अघिल्तिर मारुती वागन–आर पार्किङ गरिएको थियो । सँगै, स्कुटर पनि । चेनगेटमै कुकुर तैनाथ । ‘ढोका खोलेर सोझै माथिल्लो तलामा आउनुहोस्’ भन्ने उर्दी शिरोधार्य गर्दै हामी भित्र प्रवेश गर्‍यौं । सिंढीमाथि एकपछि अर्काे मिङ गरिएको ‘मायाको चिनो’, ‘सम्मान पत्र’ झुन्ड्याइएको थियो । सिलसिलावद्ध ।
तीन तला उक्लिएपछि माग्ने बुढाको अवतार उतारेर सोफामा ढल्किरहेका केदार घिमिरे भेटिए । थकित मुद्रामा । बेस्सरी भारी बोकेर चौतारोमा सुस्ताइरहे जसरी ।

तपाईंले पकाउने मीठो परिकार के हो ?

उसिनेको अण्डा ।

बिहान उठ्नासाथ के गर्नुहुन्छ ?

म उठ्दा दिउँसो हुन लागेको हुन्छ । त्यसबेला मर्निङवाक जान मिलेन ।

व्यायाम गर्नुहुन्न ?

गर्छु, साँझतिर । पहिले कराँते पनि सिकेको हो, त्यही गर्छु । यो मेरो रेगुलर रुटिन हो ।

पसिना चुहिनेगरी ?

अँ, पसिना निस्कने–निस्कने बेला हुन्छ । त्यसअघि मै निस्कन्छु ।

बाहिर हिँड्दा कति चिरिच्याँट्ट भएर हिँड्न मन लाग्छ ?

मेरो लुगा लगाउने ढंग देखेर साथीहरु भन्छन्, ‘माग्नेको यस्तो गति देख्नुअघि म किन मरिनँ ।’

यो प्रश्नोत्तरपछि माग्ने बुढा ‘हा..हा..हा’ गर्दै कस्मेटिक्स हाँसो हाँसे ।

माग्ने बुढाले ट्राउजरमा पार्टी सुज लगाएको देखेपछि गायक सत्यराज आचार्यले जिल्लिँदै भने, ‘हे भगवान, यस्तो देख्नुअघि किन म मरिनँ ?’ गोलाकार सोफामा ज्यानलाई अडेस लगाएर ल्यापटपको किबोर्डमा औंला नचाइरहेका माग्ने बुढाले काँचको पारदर्शी टेबलमा लमतन्न खुट्टा पसारेका थिए । प्रश्नोत्तर चलिरहँदा उनले फेसबुकमा आफ्नो फोटो अपलोड गर्न भ्याइसकेछन् । फोटो मुन्तिर छिनछिनमा आउने लाइक र कमेन्ट हेर्दै मख्ख थिए । ‘कुरा गर्ने कुरै छैन, के कुरा गर्ने’ भन्दै उनी सुरुमा तर्कन खोजे, ‘मेरो कुरा सबै भनिसकें, भन्न बाँकी कुरै छैन ।’हामीले उनको दिनचर्याबारे चासो राख्यौं । ‘बिहान १० बजे उठ्ने, एकसरो मुख पखाल्ने, जनै समातेर मन्त्रोच्चारण गर्ने, तातो भात खाने, दिनभर काममा निस्कने, साँझ फर्केर धूपवाती बाल्ने, व्यायाम गर्ने, प्राणायाम गर्ने, दालभात खाने, सुत्ने । बस्,’ उनले एकै सासमा नौ घण्टे दैनिकी ओकले ।
एकदम तल्लो तहबाट आएको मान्छे भएकाले अरुजस्तै सामान्य जीवन भएको उनले बताए । उनलाई न लाउनेको सौख छ, न खाने । एकसरो लुगाले आङ ढाक्न पाए पुग्छ, दुई छाक दालभात भए मनग्य । लुगा ब्रान्डेड चाहिएन । महँगो पनि चाहिएन । ‘आफूलाई कस्तोले सुहाउँछ भन्ने थाहा छैन,’ उनले भने । लत्ताकपडा आफैं किन्दैनन् । परिवारका सदस्यले जस्तो ल्याइदिन्छन्, चित्त बुझाउँछन् । ‘गुनासो गर्नका लागि या आफ्नै जाँगर हुनुपर्‍यो या त फेसनबारे जान्नु पर्‍यो । मसँग दुइटै छैन,’ उनी मस्त हाँसे । ‘पब्लिक फिगर’ भइसकेपछि सबैकुरा आफ्नो मर्जीमा चल्दैन । पहिरन पनि । कम्तिमा गेटअपमा ध्यान दिनैपर्छ । उनलाई यस्तो कुराले घोच्न थालेको छ, कताकता । उनको पहिरनमाथि साथीभाइले हदैसम्मको ठट्टा गर्छन् । छोराछोरीले समेत चोर औंला ठड्याउँछन् । यसरी ठट्टा गर्नेमा दीपाश्री निरौला नम्बर वानमा पर्छिन् । तर, उनको यो ठट्टामा ‘सुझाव’ पनि मिसिएको हुन्छ । तक्मे बुढा अर्थात विल्सनबिक्रम राई भेटैपिच्छे भन्छन्, ‘काका यस्तो लगाउनु, यसरी मिलाउनु न ।’छोराछोरी पनि ‘किन यस्तो लगाएको’ भन्दै सुधारको चेतावनी दिन्छन् । तर, उनले टेरपुच्छर लगाए पो ?एक पटक कार्यक्रम सिध्याएर माग्नेको टोली काठमाडौं आउँदै थियो । बाटोमा कालकारको अर्काे टोलीसँग जम्काभेट भयो । ‘हाइ, हेल्लो’का लागि उनीहरु भ्यानबाट उत्रिए । माग्ने बुढालाई देख्नासाथ गायक सत्यराज आचार्यले जिल्लिँदै भने, ‘हे भगवान, यस्तो देख्नुअघि किन म मरिनँ ?’सत्यराजको यो ठट्यौलीको रहस्य थियो, माग्ने बुढाको हुलिया । त्यसबेला माग्ने बुढा ट्राउजरमा थिए । ट्राउजर मात्र भए त हुन्थ्यो, त्यससँगै पार्टी सुज पनि ।‘गाडीमा आफ्नै टिमसँग बस्ने त हो नि भनेर ट्राउजरमा पार्टी सुज लगाएको थिएँ,’ माग्ने बुढाले हाँसो रोक्दै भने, ‘बाटोमा त्यसरी साथीभाइसँग जम्काभेट हुन्छ भन्ने के थाहा त ?’श्रीमती माइती गएको बेला होस् वा महिनावारी भएकै बेलामा किन नहोस्, डाडुपन्यु माग्ने बुढाको हातमा आइपुग्छ । भान्साको हर्ताकर्ता उनै । खाना पकाउनमा उनी जाँगरिला होइनन् । तर, अल्छी मानेर पनि भएन । पकाउँछन् । तर, गाँसैपिच्छे ‘कम्प्लेन’ । कसैले यो पुगेन भन्ने, कसैले त्यो बढी भयो भन्ने ।भात पकाउन सुरिएर उनी भान्सामा पुग्दा छोरा पनि पछि–पछि आइपुग्छन् । किनभने, छोरालाई थाहा छ, ‘बुवाले पकाएको तरकारीसँग भात रुच्न गाह्रो हुन्छ ।’ छोरा आफैं पकाउँछन् । परिआएको खण्डमा छोरीले पनि पकाउँछिन् ।‘चारै जना आलोपालो पकाइन्छ,’ माग्ने बुढाले भने, ‘हाम्रोमा एक से एक भान्से ।’प्रायः खाना त्यही हुन्छ, जो सामान्य भान्सामा पाक्छ । अर्थात, दाल, भात, तरकारी, अचार ।खानपानमा माग्ने बुढाको आफ्नै ‘स्टाइल’ छ ।जस्तो, उनी सुरुमा पस्किएको भात दोस्रो पटक थप्दैनन् । भातमा कहिल्यै गुनासो गर्दैनन् । भात कति छिटो निल्छन् भने अरुले आधा खान भ्याएकै हुँदैनन् । थाल छिटो रित्याउने प्रवृत्तिले कहिलेकाहीं अप्ठ्यारो पार्छ । खासगरी सार्वजनिक भोजमा । ‘मलाई विस्तारै चपाएर वा थोरै–थोरै खान आउँदैन,’ उनले भने, ‘त्यही भएर अरु साथीभाइ वा कलाकारको माझमा खानुपर्‍यो भने अलि कुनातिर बस्छु ।’ माग्ने बुढाको जिब्रोले मीठो–मसिनो खोज्दैन । नुन र रोटी मात्रै भए पनि मन अघाउँछ । तरकारीमा नुन चर्काे भयो भने पानी घोलेर पनि काम चलाउँछन् । ‘खानेकुरामा म साह्रै सजिलो मान्छे,’ यति भनिसकेपछि उनले अघिल्तिरको एक टुक्रा स्याउ टिपेर चपाए । आफ्नो जीवनशैली किन अति सामान्य छ भन्ने प्रसंगमा उनले त्यो विगत सम्झिए, जतिबेला उनी फुटपाथमा टीका, काइँयो र नेलपालिस फिँजाएर ग्राहक कुर्थे । जतिबेला, उनी खाक्सीले अरुको घरको भित्ता चिप्लो पारिरहेका हुन्थे । जतिबेला, उनी यात्रुको मर्जीअनुसार ट्याम्पुको एक्सेलेटर दाबिरहेका हुन्थे । जतिबेला, उनी चार्जर, ब्याट्री, रेडियो, घडी, टर्च बेचिरहेका हुन्थे । ‘तर, सरकारले मलाई केही गर्नै दिएन,’ माग्ने बुढाले सुनाए, ‘यताबाट लखेट्यो, उताबाट लखेट्यो । सरकारले लखेटेरै मलाई कलाकार बनाएको हो ।’
कलंकीको फुटपाथमा कस्मेटिक्स आइटम बिक्री गरिहेका बेला नगर प्रहरीले धपाउने । फुटपाथको व्यापार बन्द । सरसामान कुम्लो बनाएर भाग्दा भाग्दै उनलाई आइडिया फुर्‍यो, टेम्पो किन्ने । टेम्पोलाई फुटपाथमा राख्न नपर्ने, जता दौडाए पनि भयो । यस्तै सोचे । तर, तीन वर्ष नपुग्दै सरकारको दृष्टि टेम्पोमाथि पर्‍यो । भाडामा कुद्ने सानो टेम्पो काठमाडौंको रुटबाट हटाइने भयो । दुःखजिलोले जोडेका तीन वटा टेम्पोलाई ‘बाई–बाई’ गर्नैपर्ने भयो । अब सटर लिए र विद्युतीय सामग्री बेच्न थाले । तर, सडक बढाउने भन्दै डोजर चलाउन थालेपछि, सटर पनि साँघुरियो । ‘बाटोले मिचेपछि सटर घटाउँदै लगें,’ माग्ने बुढाले भने, ‘पछि त, त्यो सानो चेप मात्र बाँकी रह्यो । पान पसलजस्तो ।’ सरकारले ‘गरिखान’ नदिएपछि उनी संयोगले रेडियो नेपालमा नाटक स्वरांकन गर्न पुगे । त्यसअघि उल्कै कविता लेख्थे । गाउँमा छँदा कविता लेखेरै ‘फेमस’ भएका । त्यही कविताले तान्दै उनलाई सिंहदरबार पुर्‍यायो । उनी सानोतिनो रेडियो नाटकमा अभिनय गर्न थाले । व्यापार–व्यवसाय थन्कियो । कलाकारिता तंग्रियो । उनी कलाकार भए । र, माग्ने बुढा बने । नै माग्ने बुढाले राजधानीमा तीनतले भवन ठड्याए । यतिबेला माग्ने बुढा त्यही घरको छतमा उभिएर फोटोका लागि ताल–तालको पोज दिँदै थिए । साभार ः अनलाईन खवरpharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३