Breaking News

जुम्रा, साङ्ला, उपियाँ, उडुस किनबेच कथा

प्रकाशित मिति : ७ कार्तिक २०७४, मंगलवार १२:५३

जुम्रा, साङ्ला, उपियाँ, उडुस किनबेच कथा

जुम्रा, उपियाँ र उडुसजस्ता जीवहरूलाई कसले गन्छ र ! हानिकारक मानिने यस्ता जीवहरूलाई मानिसले भेटे मारिदिन्छन् । तर पत्याउनै गाह्रो ! यिनीहरूको पनि बजार भाउ भने छ । जुम्रा, साङ्ला, जुका, झिँगा, उपियाँ, घुन, किर्ना, भित्ती, उडुस, लामखुट्टे राम्रो मोलमा किनबेच हुन्छ । यिनका ग्राहक हुन् विज्ञान क्याम्पसहरू ।यी जीवहरूको माग यति छ कि विराटनगरका क्याम्पसहरूले चाहिँदो मात्रामा पाउन सकेकै छैनन् । बिक्रेताहरूलाई माग धान्न धौधौ छ । ‘सबै कलेजले एकपटक माग्छन्, अनि त कता दिने कता नदिने मुस्किल पर्छ,’ मुसा र भ्यागुता कलेजलाई बेच्दै आएका विराटनगरका सोनी राउत भन्छन् । जीव विज्ञान पढाइ हुने कलेजहरूले पहिले पहिले भारतका सप्लायर्सहरूबाट ल्याउँथे यस्ता जीवहरू । तर पछि कलेजकै कर्मचारीले यसबाट राम्रो आम्दानी हुने बुझेर आफैं खोजेर बेच्न थाले । २०४८ सालअघि विराटनगरमा महेन्द्र मोरङ क्याम्पसमा मात्र विज्ञान पढाइ हुन्थ्यो । उक्त कलेजलाई आवश्यक पर्ने जीव त्यहीँका कर्मचारी डेडराज कामतले पूर्ति गर्न थाले । पचासको दशकमा दर्जन हाराहारीमा विज्ञान पढाइ हुने कलेज खुले । सुरुमा उनैले सबै कलेजलाई दिन थाले । बिस्तारै माग बढ्न थाल्यो, उनले पूर्ति गर्न सकेनन् । अनि क्रमशः सम्बन्धित कलेजकै कर्मचारीले यसलाई सहायक आम्दानीको बाटो बनाए । विराट साइन्स क्याम्पसका कर्मचारी सञ्जय गुरुङ भन्छन्, ‘मैले पनि धेरै वर्ष विभिन्न कलेजका लागि मुसा, भ्यागुता बेचेँ तर अहिले जुटाउन कठिन छ ।’ भानु मेमोरियल उमाविका कर्मचारी धु्रव लुइटेलका अनुसार समयमा यस्ता ‘सामान’ नपाउँदा प्रयोगात्मक कक्षा सञ्चालन गर्न समस्या हुने गर्छ । ‘पहिला त अरूबाट नै  किनिन्थ्यो, समयमा सामान आइनपुगेर समस्या भयो अनि पछि गाउँका भाइहरूलाई खोज्न लगाएर उचित दाम दिएर ल्याउने गरिएको छ,’ उनी भन्छन् ।

यस्ता जीव बेच्नेलाई राम्रै आम्दानी हुन्छ । प्रतिगोटा मुसाको ५० देखि ७५ रुपैयाँ र भ्यागुताको २० देखि २५ रुपैयाँ र गड्यौलाको ५ देखि १० रुपैयाँ पर्छ । साङ्लाको ८ र पुतलीको सरदर १० रुपैयाँमा किनबेच हुने गरेको छ । झिँगा र लामखुट्टेको मूल्य तोकिएको छैन । बेचबिखनमा संलग्नहरूका अनुसार अहिले यिनीहरूको माग पनि छैन । छेपारोको प्रतिगोटा ३० देखि ५० रुपैयाँसम्ममा कारोबार हुने गरेको छ । क्याम्पसहरूमा जुकाको माग धेरै छ । यसको बजार मूल्य पनि बढी छ । तर बिक्रेताले पुर्‍याउन सकेका छैनन् । युरेका साइन्टिफिक कन्सर्नका मनोज गौतम भन्छन्, ‘माग धेरै छ । यहाँबाट पार नलागेर भारतका सप्लायर्ससँग सम्पर्क राखेको छु । नेपालका उपभोक्ताकहाँ पुग्दा यसको मोल प्रतिगोटा ७० रुपैयाँ पर्छ ।’ जुका भारतबाट ल्याइए पनि समस्या जुम्रा, उपियाँ र उडुसमा छ । महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्राणीश्ाास्त्र विभागका प्रमुख शिवनारायण यादव भन्छन्, ‘अहिलेसम्म त स्वर्गीय डेडराजले खोजी ल्याएका जुम्रा, उपियाँ र उडुसले पुग्दै थियो अब बीएस्सीको कोर्स कस्तो आउँछ सोहीअनुसार आवश्यक पर्छ/पर्दैन, त्यही बेला थाहा हुन्छ । पाँच वर्षअगाडि एउटा जुम्राको १० रुपैयाँ र उडुस १० देखि १२ रुपैयाँ गोटा पर्दथ्यो ।

प्राणी विज्ञानका शिक्षक विष्णु दाहालका अनुसार विद्यार्थीहरूले यी जीवहरूको शरीरका बाहिरी र आन्तरिक अंगहरूको अवस्थिति, बनावट र कार्यहरूका बारेमा अध्ययन गर्नुपर्छ । बीएस्सी प्रथम वर्षमा जुका, साङ्ला, शंखेकीरा, झिँगेमाछा आदिको चिरफार गरी आन्तरिक अंगबारे अध्ययन गर्नुपर्छ । ‘त्यसैगरी दोस्रो वर्षमा माछा, भ्यागुता, छेेपारो वा भित्ती, परेवा, मुसा वा खरायो आदि चिरफार गर्नुपर्ने हुन्छ,’ शिक्षक दाहालले भने, ‘त्यसैले यी जनावर अनिवार्य रूपमा कलेजले खरिद गर्नैपर्छ ।’ जुम्रा, उपियाँ, लामखुट्टे र यसका लार्भा र प्युपालाई वैज्ञानिक विधि मार्फत स्लाइडमा स्थायी किसिमले, नकुहिने गरी राख्नुपर्ने पाठ्यक्रममा उल्लेख छ । साङ्ला, झिँगा, पुतली, जुम्रालगायतका कीराका मुखाकृति फरक-फरक किसिमका हुने भएकाले त्यसलाई पनि स्लाइडमा उतारेर स्थायी किसिमले जोगाएर राख्ने सीप विद्यार्थीलाई सिकाइन्छ ।

कक्षा ११ मा भ्यागुता र गड्यौलाको चिरफार गनुपर्छ भने कक्षा १२ मा मुसाको । हेल्थ एसिस्टेन्ट, फार्मेसी, आईएस्सी एगि्रकल्चरजस्ता विषयको पढाइमा समेत मुसा र भ्यागुता आवश्यक पर्छ । एकजना विद्यार्थीलाई सालमा पाँचवटा भ्यागुता चाहिन्छ । त्यसैले मुसा र भ्यागुताको कारोबार निकै ठूलो छ । उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार पूर्वाञ्चलमा कक्षा ११ मा विज्ञान पढ्ने तीन हजार  र विराटनगरबाहिर उति नै संख्या गरी करिब छ हजार छन् । २५ रुपैयाँ गोटाको दरले यति विद्यार्थीलाई डेढ लाख रुपैयाँको त भ्यागुता मात्रै चाहिन्छ । मुसाका लागि अझ धेरै खर्च हुन्छ । मुसा किन्न  लगभग साढे चार लाख रुपैयाँ पूर्वाञ्चलका कलेजले मात्रै छुट्ट्याउनुपर्छ । गड्यौला खरिद गर्न ३० देखि ५० हजार रुपैयाँ चाहिन्छ ।

समस्या के छ भने यस्ता जीवहरू प्रशस्त मात्रामा पाउन गाह्रो छ । जलवायुमा भएको नाटकीय परिवर्तन, कम वषर्ा, विषादी प्रयोग  आदि कारणले भ्यागुता पर्याप्त मात्रामा पाउन छोडेको जीवविज्ञानका ज्ञाताहरू बताउँछन् । जालको प्रयोग गर्दा फुल र चेपागाँडासमेत नष्ट हुने भएकाले भ्यागुता भेला पारेर कलेज पुर्‍याउन नसकिने संकलक गुरुङ बताउँछन् । गुरुङले दुई दशकदेखि मुसा र भ्यागुता बेच्दै आएका छन् । तर पछिल्ला वर्षमा भ्यागुताको संख्या ह्वात्तै घटेर काम नै त्याग्नुपर्ने स्थिति आएको उनको भनाइ छ ।

हजारौं संख्यामा मुसा जुटाउनु चानचुने कुरा होइन । बिक्री हुने भए भए पनि संकलन गर्न कठिन भएको राउतको भनाइ छ । उनी छिमेकीहरूसँग पनि मुसा किनेर बेच्ने गर्छन् । ‘पछिल्ला वर्षमा मुसा भेट्न धेरै मेहनत गर्नुपरेको हुनाले भाउ नबढाई हुन्न,’ उनी भन्छन् । उनको कारोबार एक वर्षमा ७०/८० हजार रुपैयाँको छ । त्यसबाट ५० हजार कमाइ हुने उनी बताउँछन् ।

मानिसहरूले घरायसी सफाइमा ध्यान दिन थालेपछि जुम्रा, उपियाँ र उडुस पाउन कलेजहरूलाई धौ धौ पर्न थालेको छ । ‘बीएस्सीको यसपटकको परिमार्जित तेस्रो वर्षको कोर्समा पुनः यिनकै प्राक्टिकल गराउनुपर्‍यो भने ज्यादै मुस्किल छ । जुम्राभ्ान्दा पनि उडुस त झनै पाइँदैन,’ शिक्षक दाहालको चिन्ता छ ।

काठमाडौंका कलेजहरूले यस्ता ‘सामान’ भारतबाट ल्याउने गरेका छन् । नासा कलेजका प्राणी विज्ञानका शिक्षक पुरुषोत्तम पनेरु भन्छन्, ‘यहाँ एउटा मुसाको दुई सय ५० रपैयाँ पर्छ ।’ उनका अनुसार स्थानीय संकलन असम्भव छ । सेता मुसा पाल्ने फार्मबाट केही मात्रामा कलेजले खरिद गर्ने गरेको छ ।

 

pharmacy

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३