प्रकाशित : १६ पुष २०७८, शुक्रबार २१:३८

विराटनगर, १६ पुस । कुनै बेला विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथाको आरोहण गर्दा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले साढे छ दशकअघि प्रयोग गरेको पदमार्ग यतिबेला पुनः मुन्धुम ट्रेलको नामले चर्चामा आएको छ । प्रदेश १ सरकारले यस मार्गलाई प्राथमिकतामा राखेर पर्यटकीय पूर्वाधार निर्माण गर्ने देखि आवश्यक प्रचार प्रसार गरेपछि पछिल्ला दिनहरुमा यो मार्गले चर्चा पाएको हो ।
प्रदेश १ सरकार, स्वीस सरकार र पदमार्ग क्षेत्रमा पर्ने खोटाङ तथा भोजपुरका ६ वटा स्थानीय तहको संयुक्त लगानीमा उक्त मार्गको कुल ८८ किलोमिटर क्षेत्र मध्ये ६२ किलो मिटर क्षेत्रमा २१ करोड रुपियाँ लगानी गरी पदमार्ग लगायत खानेपानी,विश्राम स्थल र तथा वासस्थान जस्ता भौतिक पूर्वाधार निर्माण गर्ने काम गत असार महिनामा सम्पन्न गरिएको छ । यसरी पदमार्ग क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रमा आउने आन्तरिक पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको छ । कोराना भाइरसका कारण गत वर्ष उक्त क्षेत्रमा आउने पर्यटकहरु प्रभावित भएपनि यस वर्षको भदौ महिना देखि आन्तरिक पर्यटकहरु आइरहेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष धुर्व राई बताउनु हुन्छ ।
पूर्वाधार निर्माणसँग प्रचार प्रसार समेत पर्याप्त मात्रमा भएकाले उक्त क्षेत्रमा आन्तरिक र वाह्य पर्यटक पनि आकर्षित हुन थालेका छन् । आगामी दिनमा यसले निकै ठूलो चर्चा पाउने र निकै धेरै पर्यटकलाई आकर्षित गर्ने सम्भावना देखिएको पर्यटन अभियन्त रमेश राई बताउनु हुन्छ । मेरापिक, आइसल्याण्ड पिक र होङकुचुली बेस क्याम्प हुँदै सगरमाथासम्म पुग्नलाई यो छोटो बाटो भएकोले पनि यसको प्रचार गरिनुपर्ने पर्यटन अभियान्तहरुको भनाइ छ ।
यो पदमार्गले भोजपुरका टेम्केमैयुङ, साल्पा सिलिछो, भोजपुर र षडानन्द नगरपालिकाका,खोटाङको साकेला र केपिलासगढी तथा दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका, सोलुखुम्बुको महाकुलुङ र सङ्खुवासभाको सिलिचङ गाउँपालिका गरी चार जिल्लाका नौवटा स्थानीय तहलाई जोड्ेको छ । प्राकृतिक सौन्दर्यले भरीपूर्ण यो नयाँ गन्तव्यको पहिचान मैयुङ–टेम्के–साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले गरेको हो ।
यो पदमार्ग रमणीय प्रकृतिक दृश्यका लागि मात्र नभएर नयाँ खालको सामाजिक जीवनशैली र संस्कृति, विभिन्न जातिका बनस्पति, चराचुरुङ्गी तथा दुर्लभ वन्यजन्तु बासस्थान पनि भएकाले त्यसको अध्ययन र अनुसन्धान गर्ने हिसाबले पनि निकै महत्वपूर्ण गन्तब्य बन्न सकछ ।
खोटाङको दिक्तेलबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर र खोटाङको सीमा क्षेत्रमा पर्ने चखेवा भञ्ज्याङ (२,३०० मि.) बाट सुरु हुने यो पदमार्ग धोत्रेदेउराली, हाँसपोखरी, सातदोबाटो, ह्याकुले र साल्पापोखरी (३,७५० मि.) हुँदै सिलिचुङ डाँडा (४,१५३ मि.) मा गएर टुङ्गिन्छ । उक्त पदमार्गमा अधिकाँश किरात समुदायका बस्ती रहेकाले किराती जीवनशैली, संस्कार र संस्कृतिबारे अध्ययन अवलोकन गर्न सकिन्छ । त्यसैले यो पदमार्गको नाम मुन्धुम मार्ग राखिएको हो ।
प्राकृतिक सौन्दर्यता
हिमालको फेदीसम्म पुग्न र अत्यन्तै चिसो मौसमको सामना गर्न सक्ने जोसुकै र जुनसुकै हावापानीमा रहेका पर्यटकका लागि पनि यो पदमार्ग उपयु्क्त छ । चिसो लेकाली भू–भाग, दम्साइलो उकालो, थकानलाई मेटाउने मनोरम प्राकृतिक दृश्य र सजिलो बाटो भएकाले सबैखाले पर्यटकले यो पदमार्गलाई आफ्नो गन्तब्य स्थल बनाउन सक्छन् । वर्षको बाह्रै महिना यात्राका लागि उपयुक्त मौसम हुने यस क्षेत्रमा पदमार्गीले आफू अनुकूलको मोैसम छनोट गर्न सक्ने अवस्था रहेको स्थानीय साल्पा सिलोछो गाविसका अध्यक्ष महेश राई बताउन हुन्छ ।
छ्याङ््ङ खुलेका सेता हिमालको सौन्दर्यमा रमाउने पर्यटकका लागि थकानको महशुस समेत नहुने गरी डाँडैडाँडा हिँडिरहुँ लाग्ने यो पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से, लगायतका आठ हजार मिटर अग्ला छवटा हिमाल, ३३ भन्दा बढी हिमश्रृङ्खला र तराईको भू–भाग अवलोकन गर्न सकिन्छ । यतिमात्र होइन यात्रका क्रममा ठाउँठाउँमा भेटिने अनेकौँ चौरीखर्क र भेडीगोठ, राई र शेर्पा जातिको बस्ती, आफ्नै जातीय भेषभूषामा सजिएका स्थानीय बासिन्दासँगको हेलमेल, उनीहरुकै संस्कृति, चालचलन र व्यवहारले पदयात्रीलाई छुट्टै आनन्द दिन्छ ।
जीव, जन्तु र वनस्पति
पहाडको शिरैशिरको यो पैदल यात्रामा दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुसको जङ्गल र लोक्ताका झाडी, शिरशिरे चिसो बतास, बाघ भालु, चितुवा जस्ता जङ्गली जनवारसँग ठाउँठाउँमा हुने जम्काभेट, ४५ भन्दा बढी जातका जङ्गली चराको चिरबिरे सङ्गीतले पनि यात्रालाई अझ अनन्दित बनाउँछ । अझ ग्रीष्मदेखि वर्षा ऋतुमा यस क्षेत्रमा पाइने मौसमी अवस्था (घाम, पानी, झरी र बादल) को लुकामारीका दृश्य, खर्कमा चर्न निस्किएका चौरी, घोडा र भेडाका बथान, चौरी र घोडा चराउन गाउँ छाडेर खर्कमा आएका गोठालाको जीवनशैली यस पदमार्गका प्रमुख विशेषता हुन् ।
ग्रीष्म ऋतुमा भीरपाखामा देखिने भीर मौरीको गोलो र प्राकृतिकरुपमै देख्न र अनुभव गर्न पाइने ‘हनी हन्टिङ’, विश्वमै दुर्लभ मानिएको हाबे्र (रेडपाण्डा)का बथान, आफ्नो आहाराका लागि हिमाली चिलले गर्ने मृगको शिकार जस्ता अनौठो दृश्य अवलोकन र अनुभव यो मार्गमा सहजै गर्न पाइने स्थानीय साल्पासिलिछो गाउँपालिकाकी उपाध्यक्ष धनमाया राई बताउनुहुन्छ ।
जीवनशैली र व्यवहार
यो मार्गमा विभिन्न जातजातिको संस्कृति, चालचलन र जीवनशैली अवलोकन गर्न पाइन्छ । तर पनि यो पदमार्ग अधिकाँंश किरात बस्ती भएर गएको छ । त्यसैले पद मार्गभरि किरात जीवनशैली, संस्कार र संस्कृतिसँग साक्षात्कार हुन पाइरहिन्छ । राई र शेर्पा समुदायको धर्म, संस्कृति र परम्परा नजिकबाट नियाल्न सकिन्छ । स्थानीय राई र शेर्पा संस्कृतिसँग जोडिएका साकेला थान, चौतारी, माने (छोर्टेन), थुम्का र थुमले हिँडाइको थकानलाई सजिलै बिर्साइदिन्छ ।
पदमार्गको आसपासका बस्तीमा पाइने कोदो मकैका स्थानीय परिकारका स्वाद, राई र शेर्पा संस्कृति अनुसार पाइने सत्कारले पनि यहाँ पुगेका पर्यटकलाई अर्को आनन्द दिने टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष ईन्द्रवती राई बतउनुहुन्छ ।
थप बजेट
पदमार्ग क्षेत्रका २६ किलो मिटर क्षेत्रमा पदमार्ग र अन्य पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्षमा समेत प्रदेश १ सरकारले ५० लाख रुपियाँ विनियोजन गरेको छ । बाँकी क्षत्रेमा आवश्यक पूर्वाधार निर्माणका लागि स्वीस विकास सहयोग संस्था ( एसडीसी)लाई प्रस्ताप पठाई सकिएको प्रदेश १ को पर्यटन, उद्योग, बन तथा वातावरण मन्त्रालयका पर्यटन महाशाखा प्रम्ुख शम्भु प्रसाद साह बताउनु हुन्छ ।

नोटः यो समाचार अर्थ पेजका लागि पठाई दिनु होला

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३