प्रकाशित : १५ पुष २०७८, बिहीबार १८:४७

विराटनगर, १५ पुस । वृद्धि भएको पारिश्रमिक माग गर्दै मोरङको जहदा गाउँपालिकाका विद्यालय कर्मचारी तथा बाल विकासका सहयोगी कार्यकर्ताहरु आन्दोलित भएका छन । उनीहरुले वृद्धि गरिएको पारिश्रमिक नपाए विद्यालय बन्द गर्ने चेतावनी दिएका छन ।

०७८ साउनदेखि वृद्धि भएको पारिश्रमिक नपाएको भन्दै जहदाका १ सय १० जना विद्यालय कर्मचारी तथा बालविकासका सहयोगी कार्यकर्ताहरु आन्दोलित भएका हुन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले नेपाल सरकारले विनियोजन गरेको बजेट कार्यन्वयनमा नल्याएको बताएका छन । स्थानीय तहका प्रमुख कैलाशप्रसाद मण्डललाई भेटेर समस्याबारे ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरिएको भन्दै पुस १६ गते नेपाल शिक्षक महासंघको नेतृत्वमा गाउँपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष चैतुलाल मण्डलले बताउनुभयो । उहाँका अनुसार पुस १८ गते गाउँपालिकाको कामकाज ठप्प पार्न तालावन्दी गरिने र पुस १९, २० र २१ गते तीन दिन जहदाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठन पाठन बन्द गरिने छ । पहिलो चरणको आन्दोलनपछि अन्य संघर्षका कार्यक्रम तय गरिने नेपाल शिक्षक महासंघका सचिव कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

कर्मचारी तथा सहयोगी कार्यकर्ताले संघीय सरकारबाट सशर्त अनुदानबाट प्राप्त ८ हजार मात्र अहिले पाईरहेको उहाँले बताउनुभयो । स्थानीय तहबाट प्राप्त हुने ७ हजार गाउँपालिकाले नदिएको अधिकारीको भनाइ छ । गाउँपालिका अध्यक्ष मण्डलले पालिकाको आन्तरिक श्रोत वार्षिक ६० लाख मात्रै भएकाले कर्मचारी, सहयोगी कार्यकर्तालाई दिन नसकिएको बताउनुभयो । पालिकाले जति सक्छ सोही अनुसार दिने उहाँले बताउनुभयो ।

कर्मचारी, सहयोगी कार्यकर्ताको माग जायज भएपनि सम्वोधन गर्न नसकिएको उहाँको भनाइ छ । आगामी गाउँपालिकाको बैठकबाट निर्णय गरिने मण्डलले बताउनुभयो । नेपाल सरकारले बजेटमा आन्तरिक श्रोतबाट पारिश्रमिक वृद्धि गर्ने उल्लेख गरेपनि जहदासँग आन्तरिक श्रोत धेरै नहुँदा समस्या भएको उहाँले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३