प्रकाशित : ११ पुष २०७८, आईतवार १८:३३

विराटनगर, ११ पुस । सरोकारवालाहरुले सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया झन्झटिलो भएको भन्दै त्यसलाई सहज बनाउन सुझाव दिएका छन् । सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएको समस्या समाधानका लागि सुझाव संकलन गर्न आइतबार विराटनगरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले प्रक्रिया सहज बनाउन आग्रह गरेका हुन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा भएको उक्त कार्यक्रममा देशभित्र जहाँसुकैबाट पनि व्यक्तिगत घटना दर्ता गर्ने व्यवस्था मिलाउन, सामाजिक सुरक्षाभत्ता वितरणलाई सरल बनाउन सहभागीहरुले माग गरेका छन् ।
विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित सुनुवाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले सामाजिक सुरक्षा भत्ता वापत जतिसुकै रकम प्राप्त भएपनि ज्येष्ठ नागरिकहरुले त्यसलाई राज्यले सम्झिएको रुपमा बुझ्ने गरेको बताए । मन्त्री यादवले वितरणको प्रक्रियाहरुलाई सरल बनाउँदै लैजानुपर्ने सुझाव दिए ।

विभागका महानिर्देशक तिर्थराज भट्टराईले सरकारले गत बर्ष ६८ अर्ब रुपैयाँ सामाजिक सुरक्षाका लागि खर्चिएको जानकारी दिए । उनले कानुन र समुदायको स्तर नमिलेको खण्डमा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षाको सहज वितरण प्रक्रिया सम्पन्न नहुने बताए । विभागले वितरणमा देखिएका समस्यालाई सहज बनाउँदै लगेको र प्रक्रियागत रुपमा स्थानीय तहमा पनि समन्वय गरिएको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आफ्नो जिम्मेवारी सम्झिएर सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउन सम्बन्धित बैंक, वडा तहसम्मका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गरे ।
विराटनगर महानगरपालिकाकी उपमेयर इन्दीरा कार्कीले ज्येष्ठ नागरिक लगायत राज्यबाट सामाजिक सुरक्षा भत्ता वापत सुविधा लिइरहेका सवै क्षेत्रका व्यक्तिहरुलाई महानगरपालिकाले सकेसम्म सहज रुपमा सुविधा उपलब्ध गराइसकेको बताइन् । उनले ८४ बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक एक हजार रुपैयाँका दरले महानगरपालिकाले आन्तरिक स्रोतबाट थप भत्ता वितरण गर्दै आएको जानकारी दिइन् ।

वडा नं. ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, महानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा, वडा सचिवहरु हरिप्रसाद गुरागाँई र सरस्वती ढकाल, बैंकका प्रतिनिधिलगायतले पञ्जीकरण र सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रियामा देखिएका समस्याबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीहरुका तर्फबाट उत्तम ढुंगेल, अमरचन्द्र मुखिया, देवीप्रसाद भण्डारी, राजेश मास्के, लिला उपाध्याय लगायतले सहज रुपमा सामाजिक सुरक्षा भक्ता वितरण गर्न र समस्या समाधानका लागि अन्तर सरकारी संयन्त्रहरुबीच सहजीकरण गर्न समेत आग्रह गरेका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३