प्रकाशित : १९ मंसिर २०७८, आईतवार १८:३७

विराटनगर, १९ मंसिर । विराटनगर महानगर क्षेत्रमा झण्डै एक महिना देखि उठ्न नसकेको फोहोर एक साता भित्रमा उठाई सकिने भएको छ । महानगरको फोहोर व्यवस्थापन गर्दै आएको वेष्ट म्यानेजमेन्ट प्रालिसँगको सम्झौता अवधि सकिएपछि तीनवटा नयाँ साँझेदार संस्थाहरुले विराटनगरको फोहोर व्यवस्थापनका लागि मंसिर १ गतेदेखि महानगरपालिकासँग सम्झौता गरेका छन् ।

सम्झौता गरेको दुई साता वितेपनि नगरका अधिकांश स्थानहरुको फोहोर उठ्न नसकेपछि नगर क्षेत्रमा दुर्गन्ध बढेको भन्दै नगरवासीले गुनासो गर्नथालेपछि महानगरले साँझेदार संस्थालाई फोहोर व्यवस्थापन छिटो गर्न निर्देशन दिएको हो । महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न सम्झौता गरेका नेपाल फुलबारी वेष्ट थ्रि आर पोलुसन कन्ट्रोल सर्भीस, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल र आरएसडी सप्लायर्सका प्रतिनिधिहरुले आज महानगरपालिकामा भएको छलफल कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन । फुलबारी वेष्ट थ्रि आर पोलुसनकी सविता रिजाल, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालका कृष्ण तिम्सीना र आरएसडी सप्लायर्सका गणेश रावतले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । महानगरपालिकाले तीन वटा संस्थालाई उत्तरी भाग, मध्य भाग र दक्षिणी भाग गरेर फोहोर व्यवस्थापनको जिम्मा दिएको छ ।

विराटनगरको फोहोर व्यवस्थापनका लागि तीन वटा संस्थासँग महानगरपालिकाले ५ वर्षका लागि सम्झौता गरेको छ । महानगर क्षेत्र भित्रको फोहोर चाँडोभन्दा चाँडो उठाउनका लागि महानगर प्रमुख भीम पराजुलीले साँझेदार संस्थाहरुका प्रतिनिधिहरुलाई निर्देशन दिनु भएको छ । उहाँले फोहोर व्यवस्थापन कार्यमा गलत देखिएमा महानगरले जुनसुकै समयमा पनि सम्झौता रद्ध गर्न सक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो,‘ सम्झौता भङ्ग भयो भन्दै मलाई भेट्न नआउनुहोला ।’ फोहोर व्यवस्थापनमा राम्रो गरे प्रोत्साहन गरिने उहाँले बताउनुभयो । फोहोर व्यवस्थापन कार्यमा संलग्न संस्थाहरुलाई वडाका जनप्रतिनिधिहरुसँग समन्वय गरि काम गर्न निर्देशन दिईएको महानगरका वातावरण महाशाखा प्रमुख राजेन्द्र प्रधानले जानकारी दिनुभयो । उहाँले १९ वटै वडामा दैनिक फोहोर व्यवस्थापनको सूची बनाएर काम गर्न निर्देशन दिईएको बताउनुभयो ।

छलफल कार्यक्रममा आरएसडी सप्लायर्सका गणेश रावतले साँझेदार संस्थाहरु मिलेर विराटनगरमा छुट्टै ल्याण्डफिल साईट बनाउने योजना रहेको बताउनुभयो । उहाँले ल्याण्डफिल साईटका लागि कसैले जमिन उपलब्ध गराए लगानी गर्न आफुहरु तयार रहेको उहाँले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३