प्रकाशित : ६ कार्तिक २०७८, शनिबार १८:५३

विराटनगर, ६ कात्तिक । सटरको ताला फुटाएर विराटनगरको एउटा मोबाइल पसलमा शुक्रबार राति चोरी गरिएको छ ।

मधुकुमार राईले विराटनगर महानगरपालिका–९ महेन्द्रचोकमा सञ्चालन गरेको सनराइज इन्टरप्राइजेजमा चोरी भएको हो । चोरीमा संलग्नले छेउमै रहेको किराना पसलको गोदामको सटरमा लगाएको ताला फुटाएर भित्र छिर्दै मोबाइल पसलमा चोरी गरेको पाइएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताउनु भयो । उहाँका अनुसार मोबाइल पसलमा दोस्रो पटक चोरीको घटना भएको छ । यसअघि २०७६ साल असारमा त्यही तरिकाले सटर फुटाएर चोरी गरिएको थियो । पसलबाट चोरी भएको मोबाइल किन्ने दुई जना त्यतिबेला पक्राउ परेका थिए । हराएको ५० वटाभन्दा बढी मोबाइलमध्ये ३ वटा मात्रै प्रहरीले फेला पारेको थियो । यसअघि सटर फुटाएकै ठाउँबाट पुनः सटरको ताला तोडेर पसलमा चोरी गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार चोरीमा पहिलेकै गिरोहको संलग्नता हुनसक्छ । २०५८ सालदेखि मोबाइल पसल सञ्चालन गर्दै आउनु भएका राईले पसलमा रहेकामध्ये १५÷१६ वटाभन्दा बढी स्मार्ट फोन लगायतका मोबाइल चोरी भएको बताउनु भयो । हिजोसाँझ पसल बन्द गरेर घर गएको र आज बिहान ११ बजेतिर पसल खोल्न आउँदा चोरी भएको अवस्थामा पाएको उहाँको भनाइ छ । चोरी गरिएको मोबाइलका खोलहरु हालिएको एउटा जेब्रा झोला भने घटनास्थलनजिक फेला परेको छ । राईले उक्त झोला आफ्नो नभएको बताउनु भयो ।

प्रहरीले चोरी गरेपछि मोबाइल झोलामा राखेर लगिएको र केही पर खोलसहित छाडेर चोरीमा संलग्नहरु फरार बनेको हुनसक्ने जनाएको छ । घटनामा संलग्नको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको जानकारी एसपी जिसीले दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३