प्रकाशित : २१ आश्विन २०७८, बिहीबार १६:४२

विराटनगर, २१ असोज । जिल्ला प्रशासन कार्यालय मोरङले दसैँ, तिहार लगायतका चाडपर्वलाई भीडभाडरहित बनाउन सबैमा अनुरोध गरेको छ ।

कोरोना महामारीको जोखिम कायम रहेको उल्लेख गर्दै प्रशासनले बिना भीडभाड र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर चाडपर्व मनाउन सबैमा आग्रह गरेको हो । दसैँ सुरु भएसँगै चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउनेतर्फ प्रशासनले ध्यान दिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कोरोनाको सङ्क्रमणबाट बच्नका लागि सबैले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिनुपर्ने बताए । ‘भीडभाडरहित एवम् सुरक्षित र मर्यादित हिसाबले चाडपर्व मनाउने वातावरण तयार गर्न सबै पक्षसँग छलफल र समन्वय भइरहेको छ,’ उनले भने, ‘आफ्नो स्वास्थ्यलाई ध्यान दिँदै चाडपर्व मनाउनुपर्ने अवस्था छ ।’

दसैँमा विभिन्न मठमन्दिर, शक्तिपीठ र धार्मिक तीर्थस्थलहरुमा अत्याधिक भीडभाड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासन सक्रिय बनेको जानकारी दाहालले दिए । उनका अनुसार प्रशासनबाट भएको निर्णय सबै ठाउँमा प्रहरीमार्फत कार्यान्वयन गरिने छ । तडकभडक र भीडभाड नगरिकन सामाजिक दूरी कायम गरेर पर्वहरु मनाउन प्रजिअ दाहालले सबैमा आग्रह गरेका छन् ।

धार्मिक तीर्थस्थल, भीडभाड बढी हुने स्थान, बैङ्क तथा वित्तीय संस्था, सार्वजनिक स्थल, अपराधिक घटना धेरै हुनसक्ने सम्भावित स्थानको सुरक्षा व्यवस्था कडा पारेर लगिएको जानकारी उनले दिए । उनका अनुसार चाडपर्वलाई लक्षित गर्दै नेपाल र सशस्त्र प्रहरी गरेर एक हजार छ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दाहालले पछिल्लो समय बजार अनुगमन पनि तीव्र पारिएको जनाए । ‘नियमित बजार अनुगमन गर्दै दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउने काम भइरहेको छ,’ उनले भने, ‘उपभोक्तामाथि हुनसक्ने ठगीलाई नियन्त्रण गर्न सबै पक्षसँग समन्वय गरिएको छ ।’ उनका अनुसार बजार अनुगमनका लागि केन्द्रिय अनुगमन टोलीसमेत आउने छ ।

चाडपर्वको मौका छोपेर व्यापारीले सामानको मूल्यवृद्धि गर्ने र कालोबजारीलाई प्रसय दिनसक्ने अवस्थालाई मध्यनजर गर्दै कारबाही अघि बढाइएको प्रजिअ दाहालले बताए । सामान खरिद गर्दा ठगिएमा वा बजार मूल्यभन्दा बढी पैसा तिर्नु परेमा तत्काल प्रशासनलाई जानकारी गराउन उनले उपभोक्तालाई आग्रह गरेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले चाडपर्वलाई मध्यनजर गर्दै प्रदेश १ को राजधानी विराटनगरसहित सबै स्थानको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । ‘अपराधिक घटना हुनसक्ने सम्भावित स्थानलाई लक्षित गरेर प्रहरीले निगरानी बढाएको छ,’ उनले भने, ‘शङ्कास्पद व्यक्तिहरु माथि सोधपुछ र सवारी साधनको चेकजाँचलाई बढाइएको छ ।’

अपराधिक घटना हुन नदिन सबै स्थानमा प्रहरी उपस्थिति बढाइएको बताउँदै एसपी जिसीले चाडपर्व लक्षित सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए । सम्भावित अपराध नियन्त्रणका लागि सादा पोशाकसहित प्रहरीको विशेष टोली परिचालन गरिएको उनले बताए ।

जिसीका अनुसार सुरक्षा व्यवस्था कडा बनाउँदै नियमित ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्ने काम भइरहेको छ । ‘प्रहरीले नियमित गस्ती र पेट्रोलिङ गरिरहेको छ,’ उनले भने, ‘चाडपर्वका बेला कुनै पनि अपराधिक घटना हुन नदिने हिसाबमा सुरक्षा व्यवस्था मिलाइएको छ ।’

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३