प्रकाशित : २४ भाद्र २०७८, बिहीबार १७:२४

विराटनगर, २४ भदौ । संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका छ जनाको हत्यामा संलग्नको पहिचान कठिन बन्दै गइरहेको छ । घटनाको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश १ प्रहरी कार्यालय विराटनगर, संघीय इकाई प्रहरी कार्यालय धरान र संखुवासभा प्रहरीको संयुक्त टोली खटिएको छ ।

तर सामूहिक हत्या भएको चार दिनसम्म पनि हत्याराहरु फेला परेका छैनन् । अनुसन्धानमा नेपाल प्रहरीको तालिम प्राप्त कुकुर पनि प्रयोग गरिएको छ । प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीसमेत हिजो साँझ ७ बजेतिर घटनास्थलमा पुग्नु भएको छ । हालसम्म प्रहरीले अनुसन्धानमा प्राप्त गरेको उपलब्धिको अध्ययन गर्दै बीसीले घटनास्थल वरपरका सबै स्थानलाई निगरानीमा राखेर खोजी तीव्र बनाउन ठाउँठाउँमा प्रहरी परिचालन गर्नु भएको छ । क्रुरतापूर्वक हत्या गरिएको घटनामा प्रहरीले गम्भीर ढंगले अनुसन्धान गरिरहेको बताए पनि सफलता हात पर्न सकेको छैन । निरन्तरको वर्षा र भौगोलिक विकटताले अनुसन्धानमा जटिलता उत्पन्न भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताउनु भयो । घटनाको अनुसन्धान र हत्याराको खोजीमा प्रहरी सक्रियपूर्वक लागेको जानकारी उहाँले दिनु भयो ।

हत्या गरिएका सबै जनाको हिजो दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरेर साँझ इटहरीस्थित बूढीगंगा जमुनामुक्ति घाटमा सामूहिक दाहसंस्कार गरिएको छ । बीभत्स हत्या गरिएको अवस्थामा ८४ वर्षीया पार्वता कार्की, छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की र उहाँकी पत्नी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की र उहाँका दुई छोराछोरी ११ वर्षीय दीपेन र ७ वर्षीया गोमा कार्कीको शव गत सोमबार बिहान भेटिएको थियो । धार नभएको कुनै वस्तुले पछाडिबाट टाउकोमा जोडले प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थल पुगेका फरेन्सिक तालिम प्राप्त चिकित्सक र पोस्टमार्टममा खटिएका चिकित्सकले पनि त्यही अनुमान लगाएका छन् । पोस्टमार्टम रिपोर्ट आइसकेपछि हत्या कसरी भएको थियोभन्ने यकिन हुने प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

घटना किन, कसरी र कसले गराएको हो भन्ने यकिन हुन नसकिरहेको एसपी राईले बताउनु भयो । वडाध्यक्ष खेमराज कटुवालले घटनापछि गाउँमा फैलिएको त्रास कायमै रहेको बताउनु भयो । हत्यारा पक्राउ नपरेसम्म गाउँको अवस्था सामान्य बन्न नसक्ने उहाँको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३