प्रकाशित : २१ भाद्र २०७८, सोमबार १७:४२

विराटनगर, २१ भदौ । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका थुनुवाको मृत्युपछि आज विराटनगरमा आफन्तले प्रदर्शन गरेका छन् । आफन्त एवं परिवारका सदस्यले जिल्ला प्रशासन कार्यालयअगाडि टायर बालेर प्रदर्शन गरेका हुन् । गत शुक्रबार तीन किलो चार सय ८० ग्राम गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का ३९ वर्षीय भीम कामतको हिजो मृत्यु भएको थियो ।

लागुऔषध मुद्दामा म्याद थप गर्न अदालतमा लैजाने तयारी हुँदै गर्दा अचानक बेहोस भएर ढलेका कामतको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । तर मृत्यु शंकास्पद रहेको र प्रहरीको यातनाका कारण भएको भन्दै आफन्त र स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । मृतककी भाउजू मीनादेवी कामतले प्रहरीको यातनाका कारण भीमको मृत्यु भएको दाबी गर्नु भयो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले भने शवको पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि घटनाका बारेमा यकिन हुने बताउनु भयो । उहाँका अनुसार हिरासतभित्रै अस्वभाविक व्यवहार देखाउन थालेपछि भीमको हात र खुट्टामा हत्कडी लगाउनुपर्ने अवस्था आएको थियो ।

हत्कडी खुस्काउन बल गरेपछि खुट्टामा चोट लागेको पाइएको प्रहरीले जनाएको छ । तर मृतकको खुट्टामा गम्भीर चोट रहेको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि अवस्था तनावपूर्ण बनेको थियो । उनीहरुले मृतकको शव पनि बुझ्न मानिरहेका छैनन् । घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउँदै दोषीमाथि कारबाही अघि बढाउनुपर्ने माग मृतकका आफन्त र परिवारका सदस्यको छ ।

यसैबीच घटनाको छानबिन गर्नका लागि मोरङका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको छ । सहायक प्रजिअ नेतृत्वको समितिमा प्रहरी अधिकारी र जनप्रतिनिधि पनि छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३