प्रकाशित : २२ असार २०७८, मंगलवार ०६:३६

विराटनगर, २२ असार । असार १६ गते करिव ३ सयको एउटा भिड उदयपुरको बेलका नगरपालिका कार्यालय परिसर प्रवेश गर्यो । ऐलानी जग्गालाई कबुलियन बन वनाउने नगरपालिकाको निर्णय विरुद्ध आन्दोलित बनेका बेलका ३ का स्थानीयबासीले नगरपालिका कार्यालय घेरे । कार्यालय परिसरको सभाहलमा नगर प्रमुख दुर्गाकुमार थापाको उपस्थितिमा कार्यक्रम चलिरहेका वेला ढुङ्गामुडा प्रहार हुन थाल्यो ।

सभाहल केहीवेरमै क्षतविक्षत भयो । विरोध प्रदर्शन गर्न जाँदा प्रहरीले हस्तक्षेप गरी १० राउण्ड हवाई फायर र २५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । बर्षैदेखि भोगचलन गर्दै आएका बेलका नगरपालिका ३ का १ हजार ३ सय घरपरिवार अहिले मध्य बर्खाको समयमा खेतीपाती र बनिबुतो छाडेर आन्दोलनमा छन् । बेलका नगरपालिका–३ शुक्रबारेका नविन राईले दुई दशकदेखि १ विगाहा ६ कठ्ठा जमिन भोगचलन गरिरहेको बताए । वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गालाई राज्यले कवुलियत वन बनाउने निर्णय गरेपछि उनको भोगचलनको जमिन खोसिने र उनीसहित सयौं सर्वसाधारण सडकमा आइपुग्ने जोखिम उच्च भएको छ । राईको नेतृत्वमा संघर्ष समिति बनाएर सर्वसाधारण अहिले आन्दोलित बनेका छन् ।

संघीय सरकारको ०७८ जेठ ६ गतेको बैठकले बेलका ३ को १७६.२३ हेक्टर क्षेत्रको जग्गामा कबुलियत वन बनाउने निर्णय गरेको थियो । ऐलानी जग्गामा करिव १३ सय घर परिवारले भोगचलन गर्दै आएको जग्गा एमाले निकट नेताको व्यावसायिक फर्मलाई ३० वर्षका लागि लिजमा दिने निर्णय भएपछि स्थानीय आन्दोलित बनेका हुन ।
मन्त्रिपरिषद् बैठकले बेलका–३ पौरखी सामुदायिक वनक्षेत्रसँग जोडिएको १७६.२३ हेक्टर सप्तकोशी नदी उकास जमिनमध्ये बराह हर्बल एण्ड एग्रो प्रालिलाई ५१.२३ हेक्टर र सेफ वे टेक्नोलोजी ललितपुरलाई १२५ हेक्टर लिजमा दिएको थियो । लिजमा दिएको मध्ये बराह हर्वल निलहरि काफ्लेको कम्पनी हो ।

को हुन निलहरि ?
एमाले नेता महेश बस्नेत उद्योगमन्त्री भएपछि निलहरि काफ्ले विराटनगर जुट मिल्सको अध्यक्ष बने । काफ्ले मिल्सको अध्यक्ष बनेपछि सरकारको ६८ प्रतिशत सेयर हिस्सा बिक्री गरेर ३८ प्रतिशतमा झारे । विराटनगर जुट मिल्स थप धरासायी बनाएका उनी अहिले हर्वल उत्पादनमा लागेका छन् । बेलका ३ शुक्रबारे बजार व्यवस्थापन समितिलाई प्रभावमा पारेमा केही बर्षयता उनले हर्वल उत्पादन गर्ने उद्योग स्थापना गरे । ६ कठ्ठा जमिनको वार्षिक १० हजार रुपैयाँ बुझाउने सर्तमा २०७५ सालमा लिजमा लिए ।

उद्योग स्थापना पछि स्थानीयलाई ‘लेमनग्रास’ रोप्न लगाए । प्रतिकठ्ठा १ लिटर हर्वल उत्पादन हुने र प्रति लिटर १ हजार दिने काफ्लेले प्रलोभन देखाएर बजार व्यवस्थापन समितिको ६ कठ्ठा जग्गा लिजमा लिएको संघर्ष समितिका सदस्य टेकबहादुर भट्टराईले बताए । स्थानीयबासीले लेमन ग्रास लगाए तर १० कठ्ठामा ३ लिटर मात्रै उत्पादन भएपछि काफ्लेले ठगेको पत्ता लागेको भट्टराईले बताए । पछिल्लो समय काफ्लेको गुण्डागर्दी बढ्दै गएको भट्टराईको भनाई छ ।

कवुलियत बन बनाउने निर्णय खारेजीको माग
कबुलियत वन खारेज सघर्ष समितिका संयोजक राईले राज्यले एकलौटी ढंगबाट मानव बस्ती हटाएर जबरजस्ती आफूहरूलाई हटाउन खोजेकाले आन्दोलित बनेको बताए । कबुलियत वन खारेज, बेलका ३ मा रहेको निलहरि काफ्लेको बराह हर्बल उद्योग तत्काल हटाउनुपर्ने आफूहरूको मुख्य माग रहेको उनको भनाइ छ । कबुलियत वनको निर्णयबाट बेलका नगरपालिका २, ३, ८ र ९ वडाका स्थानीयबासी प्रभावित हुनेछन् ।

बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले पछिल्लो समय देखिएको समस्या समाधान गर्न नगरपालिकाले पहल गरिरहेको बताए । बस्ती हटाएर कबुलियत बन बनाउने कुरामा बेलका नगरपालिका बिपक्षमा रहेको उनले बताए । नगरसभामा मन्त्रिपरिषदले गरेको निर्णायको विरुद्धमा निर्णय गरेको उनले बताए । संघीय सरकारलाई सम्झौता नगर्न दबाव दिएको थापाले बताए । नगरपालिकाले कुनै पनि हालतमा स्थानीयको घरबास उठ्ने गरि कबुलियत वन बनाउन दिने छैनौं उनले भने ।

 

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३