प्रकाशित : २६ जेष्ठ २०७८, बुधबार १८:४२

विराटनगर, २६ जेठ । प्रदेश १ मा हालसम्म ३७ जना ट्राफिक प्रहरीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । दोस्रो भेरियन्टयता ट्राफिकमा तीव्र रुपमा कोरोना फैलिँदा संक्रमित हुनेको संख्या ३७ पुगेको हो ।

जसमा प्रहरी निरीक्षक (इन्सपेक्टर) एक, नायव निरीक्षक (सइ) दुई, सहायक निरीक्षक (असइ) तीन, हवल्दार आठ, प्रहरी जवान २० र एक जना कार्यालय सहयोगी छन् । पीसीआर परीक्षण गरिएकामध्ये प्रदेशमा सबैभन्दा बढी मोरङमा इन्सपेक्टरसहित १७ जनाको रिपोर्ट पोजिटिभ आएको हो । मोरङबाहेक झापामा १२, सुनसरीमा चार, प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीमा दुई, ताप्लेजुङ र उदयपुरमा एक-एक जनामा कोरोनाको संक्रमण भएको छ । १४ जिल्ला रहेको प्रदेशमा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा कार्यरत ट्राफिकलाई भने हालसम्म कोरोनाले छोएको छैन ।

प्रदेशभर चार सय ३३ ट्राफिक प्रहरी कार्यरत छन् । कोरोना महामारी नियन्त्रण र नियमित काम कारबाहीमा खटिँदा ट्राफिक संक्रमित बन्ने गरेको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताउनु भयो । सवारी चालक एवं सर्वसाधारणलाई मास्क तथा सेनिटाइजर वितरण र कोरोनाविरुद्ध विभिन्न जनचेतनामुलक कार्यक्रम यसअघि सञ्चालन गरेको ट्राफिक प्रहरी अहिले निषेधाज्ञाको कार्यान्वयनमा सक्रिय छ । एसपी शर्माले संक्रमण पुष्टि भएर उपचाररत रहेका सबैको अवस्था सामान्य रहेको जानकारी दिनु भयो ।

संक्रमणबाट जोगिन साबुनपानीले नियमित सरसफाइ, मास्क, पञ्जा र सेनिटाइजरकको प्रयोगसहित सामाजिक दूरी कायम गरेर सावधानी अपनाउँदै काम गर्न निर्देशन दिएर ट्राफिक प्रहरी परिचालन गर्ने गरिएको उहाँले बताउनु भयो । ब्यारेकमा भौतिक दूरी कायम गरेर खान, सुत्न मिल्ने ठाउँ अनि उपयुक्त एवं अलगअलग शौचालय र बाथरुमको व्यवस्था नहुँदा ट्राफिकमा संक्रमण बढ्दो छ । समूहमा बस्नुपर्ने र फिल्डमै खटिनुपर्ने बाध्यताले एक जनालाई भएको संक्रमण अरुलाई पनि सर्ने अवस्था रहेको हो । ट्राफिकले आफ्नो कामलाई निरन्तरता दिएर जिम्मेवारी पूरा गर्दै कोरोनाको जोखिम न्यूनीकरणलाई पनि प्राथमिकतामा राखेको जानकारी एसपी शर्माले दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३