प्रकाशित : ९ जेष्ठ २०७८, आईतवार १९:२७

विराटनगर, ९ जेठ । नेपाली काङ्ग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोपको दुरुपयोग हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।

आज विज्ञप्ति जारी गर्दै कार्कीले खोप अभियानलाई प्राथमिकता दिनुको साटो भनसुनका आधारमा पहुँचभएकाहरूलाई मात्रै लगाएर अनाधिकृत रूपमा खोपको दुरुपयोग हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभएको हो । कोभिड–१९ विरुद्धको खोप अभियानलाई प्राथमिकता दिनुको साटो प्रदेशमा मुख्यन्त्री, मन्त्री र माथिल्लो दर्जाका कर्मचारीले भनसुनका भरमा आफ्ना निकटका मानिसहरूलाई मात्रै खोप लगाउने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ । मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुख निवास, मन्त्रालय र मन्त्री निवासहरूमा आफ्ना पार्टीका नेता–कार्यकर्तालगायत आफ्ना नातागोतालाई खोप लगाउने गरिएको कार्कीको आरोप छ ।

आम नागरिकले दोस्रो डोजको खोप लगाउने बेला सकिन लाग्दासमेत खोप पाउन नपाउनु र प्रदेशमा भण्डारण गरी राखिएको खोप अनाधिकृत रूपमा दुरुपयोग हुनु दुर्भाग्यपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो केही दिनयता प्रदेशका प्रमुख अस्पताल र ल्याबहरूमा पिसिआर परीक्षण बन्द भएको तथा स्थानीय तहबाट सङ्कलित स्वाब नमूना पनि ल्याबहरूले परीक्षण गर्न छोडेको बताउँदै प्रदेश सरकारले नागरिकको स्वास्थ्यमाथि खेलवाड गरिहेको विज्ञप्तिमा भनिएको छ । कार्कीले परीक्षणलाई तीव्रता दिनुपर्ने बेलामा प्रदेश सरकारले किटको व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारी अस्पताल बन्द गरेर निजी अस्पतालमा बिरामी पठाउनुमा सरकारकै मानिसहरू कमिसनको खेलमा रहेको आशङ्कासमेत गर्नुभएको छ ।

सरकारले स्थापना गरेको ८० बेडको कोभिड–१९ उपचार केन्द्र मर्मतका नाममा सञ्चालनमा नआउनुले पनि प्रश्न खडा गरेको छ । यसैगरी, पिसिआर परीक्षणलाई समुदायस्तरमा लगेर कन्ट्याक्ट ट्रेसिङका आधारमा अनिवार्य परीक्षण बढाउन आग्रह गर्दै कार्कीले सर्वसाधारणलाई खोप उपलब्ध गराउन र विपन्नलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३