प्रकाशित : ९ जेष्ठ २०७८, आईतवार १९:२३

विराटनगर, ९ फागुन । धनकुटा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रुद्र पोखरेल कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना भए ।
आठ दिन उपचार गराएपछि कोरोनमुक्त हुँदै उनी गत आइतबार डिस्चार्ज भएर घर फर्किए । चिकित्सकको व्यवहारमा सन्तुष्ट रहेका मोरङ सुन्दरहरैँचा नगरपालिकाका रुद्र अस्पताल व्यवस्थापन पक्षको शैलीप्रति निक्कै असन्तुष्ट छन् । निःशुल्क उपचार भनिए पनि अस्पतालले उनलाई पाँच सेट पीपीई, मास्क, सेनिटाइजर र ग्लोब्स किनायो ।

आफूलाई किनाएको भन्दा पनि निम्न आर्थिक अवस्था भएका संक्रमितसँग अवैध असुली गरेर अस्पतालले दर्शाएको अमानवीयता उनका लागि सहीनसक्नु भएको छ । ‘सरकारसँग सम्झौता गरेर निःशुल्क उपचार थालिएको प्रचार गरेको अस्पतालले भित्रभित्रै बिरामीलाई लुटिरहेको पाएँ,’ उनले भने, ‘कोरोना पुष्टि भएपछि मरिन्छ कि बाँचिन्छभन्ने पीडा बोकेर छटपटाउँदै पुगेका संक्रमितमाथि अस्पतालले प्रस्तुत गरिरहेको अमानवीयता झन् विरक्तलाग्दो छ ।’

उपचार राम्रो पाइँदैन कि भनेर संक्रमितले उपचाररत अवस्थामा धेरै आपत्ति नजानाउने गरेको रुद्रले बताए । ‘अहिलेको अवस्थामा मान्छेलाई पैसाभन्दा पनि ज्यानको सवाल छ,’ उनले भने, ‘त्यही भएर विभिन्न बहानामा अस्पतालले चुसिरहँदा पनि डिस्चार्ज नहुन्जेल चुप लागेर बस्नुपर्ने संक्रमितको बाध्यता छ ।’ रुद्रले पारिवारिक आर्थिक अवस्था कमजोर भएका संक्रमितले पैसा तिर्नसक्ने अवस्था नहुँदा स्वास्थ्य सामान्य भएपछि कोरोनामुक्त नभइकन नै अस्पतालबाट बिदा लिन हतार गर्ने जानकारी पनि दिए । पैसा बुझाउन नसक्नेहरु जतिसक्दो चाँडो डिस्चार्ज भएर होम आइसोलेसनमा जान बल गर्छन् ।
उनलाई पनि आठ दिन बस्दा तिर्नैनपर्ने ५० हजार रुपैयाँ अस्पतालले तिरायो । उक्त रकम सरकारसँग भएको निःशुल्क उपचार सम्बन्धी सम्झौताविपरीत रहेको उनको बुझाइ छ । गरिबीको चपेटामा परेकाले कोरोना संक्रमण हुँदा उपचारमा जाने अवस्था नै नरहेको सहायक क्याम्पस प्रमुख रुद्रले बताए ।

‘अस्पतालले जथाभावी उठाउने पैसाको विषयमा मेरो आपत्ति छ,’ उनले भने, ‘सास फेर्न नसकेर अस्पताल पुग्दा ‘सर्वसाधारण जनतामाथि ब्रह्मलुट मच्चाइन्छ ।’ नियमन गर्ने निकाय मौन बस्दा सर्वसाधारण जनता कोरोनाको पीडामाथि थप मारमा परिरहेको उनले बताए । ‘यो बेला सबै पक्ष मानिसको ज्यान बचाउन लाग्नुपर्ने हो,’ उनी भन्छन्, ‘तर घुमाउरो बाटो प्रयोग गर्दै मनपरी पैसा उठाएर घटिया व्यवहार देखाइन्छ ।’ यस्ता अस्पतालको अनुगमन र छानबिन हुननसक्नु झन् दुःखद् भएको पोखरेलले बताए ।
‘दुखाईको पीडा सहन नसकेर छटपटाइरहेका बेला उपचारको बिल हेरेपछि झन् तनाव हुन्छ,’ रुद्रले भने, ‘संक्रमणमुक्त भइसक्दा कतिपयलाई जायजेथा सबै बेच्नुपर्ने अवस्था आइलागेको छ ।’ संक्रमितको पीडामा राज्य संयन्त्र रमिते बनिदिँदा अस्पतालको अमानवीयता खेप्दै गरिब जनताले त्यत्तिकै मर्नुपर्ने उनले सुनाए । संक्रमित पीडामाथि पीडामा डुबिरहँदा अस्पतालले दायित्व भुल्दै असुलीमा ध्यान दिनू दुर्भाग्यपूर्ण भएको रुद्रले बताए ।

संखुवासभा घर भइ विराटनगर महानगरपालिका–१२ मा बस्दै आएकी नमिता निरौला ४० दिनसम्म पनि संक्रमणमुक्त हुन सकिरहेकी छैनन् । पीसीआर परीक्षणको चौथो रिपोर्ट पनि पोजिटिभ आइदियो । तर अस्पतालले मनपरी असुलिरहेको पाएपछि चैत ३० गते संक्रमण पुष्टि भएकी नमिता डिस्चार्ज मागेर होम आइसोलेसनमै बस्न थालिन् ।
उनी चैत ३१ गते पहिलो पटक उपचार गराउन कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भइन् । अवस्था गम्भीर बन्दै गएपछि पारिवारिक सल्लाहमै १४ दिनपछि अर्थात वैशाख १४ गते थप उपचारका लागि नमिता नोबेल पुगिन् । सरकारसँग सम्झौता गर्दै वैशाख १६ गतेबाट निःशुल्क उपचार थालेको नोबेलमा अब पैसा नलाग्ने भयो भनेर उनी ढुक्क थिइन् । उपचारका लागि कोसी र नोबेलमा गरेर झन्डै एक महिना बिताइन् ।

नमिताका दाजु टंक निरौलाले प्रभावकारी उपचारको खोजीमा नोबेल टेकेका दिनदेखि झन् दुःखका दिन सुरु भएको बताउँछन् । आफन्त र परिवारका सदस्य संखुवासभा र काठमाडौंतिर छन् । उनी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसकी कर्मचारी हुन् ।

‘कोरोनाले सुरुमा जटिल बनाए पनि अहिले अवस्था सामान्य छ । थाला बसाएको संक्रमणबाट मुक्त हुन चैँ बाँकी छ,’ टंकले भने, ‘तर अहिले पनि उठ्न खोज्दा बहिनीलाई रिंगाटा चल्छ । थरथरी कापेर लड्न खोज्छिन् ।’ होम आइसोलेसनमा दिनमा तीन÷चार पटक अक्सिजनको आवश्यक परिरहेको टंकले बताए ।
अस्पतालले संक्रमितमाथि यो वा त्यो बहानामा आर्थिक शोषण मात्रै गरिरहेको अनुभव नमितासँग छ । स्वास्थ्यकर्मीलाई आवश्यक पर्नेभन्दै उनलाई अस्पतालले १९ सेट पीपीई किनाइयो । औषधि, ग्लोब्स, सेनिटाइजर, मास्क र पीपीईसमेत गरेर उनले अस्पतालबाट बिदा हुँदा ८७ हजार रुपैयाँको चेक थमाइदिन् । त्योबाहेक पीसीआर र ल्याब परीक्षण तथा खाना र अस्पताल चार्ज गरेर छुट्टै २८ हजार चार सय ३५ रुपैयाँ बुझाइन् ।

‘औषधिमा २६ हजार दुई सय ८५ रुपैयाँ मात्रै खर्च भयो,’ नमिता भन्छिन्, ‘पीपीई लगायतमा ६० हजारभन्दा बढी अस्पतालले लियो ।’ उस्टै मर्ने मान्छेलाई बचाएकाले त्यसैलाई ठूलो सम्झनुभन्दै अस्पतालले वचन लगाएर उनलाई फर्कायो । सबै हिसाबकिताव पारदर्शी गरेर नियम अनुसार मात्रै पैसा लिन आग्रह गर्दा धम्की खेप्नु परेको नमिताको गुनासो छ ।
राम्रो र प्रभावकारी उपचार पाउने अपेक्षा राखेर पुग्दा अस्पतालले संक्रमितसँग जथाभावी असुलेर मन नै अमिलो बनाएको उनको अनुभव छ । नोबेलबाट १४ दिनमै निस्कन खोजेकी उनलाई रेम्डेसिभिर औषधि दिने भनेर १७ दिनसम्म राखियो । तर औषधि भने नदिएको नमिताको गुनासो छ । उल्टै जस्मिन फार्मेसीका सञ्चालक योगेन्द्र मण्डल आएर कालोबजारीमा किन्नुपर्ने र प्रति भायल १३ हजार रुपैयाँलाग्ने भएकाले पैसा दिए मात्रै औषधि ल्याइदिने बताए ।

नमिताका अनुसार आफूलाई सात भायल औषधि लाग्ने मण्डलले बताए । तर नल्याइदिकन तीन दिन त्यत्तिकै बसाइयो । पीपीईदेखि लिएर सबै खर्चको आधिकारिक बिल माग्दा अस्पतालले नदिने र फार्मेसीमार्फत बिल दिने गरेको गुनासो उनको छ । नजिक आफन्त नभएकाले उनलाई अस्पतालमा हेर्न जाने पनि कोही थिएनन् । औषधिदेखि सबै कुरा फार्मेसी सञ्चालकले नै ल्याइदिन्थे ।
‘स्वास्थ्यकर्मीलाई चाहिएकाले किन्न लगाएको भन्ने जवाफ दिएको अस्पतालले बिना जानकारी घुमाउरो तरिकाले फार्मेसीका नाममा अवैध ढंगले संक्रमितलाई पीपीई किनाइरहेको छ,’ उनी भन्छिन्, ‘तर संक्रमितको यो दुःख कसैले बुझ्दैनन् ।’ भर्ना हुनेवित्तिकै देखि एक जनालाई दैनिक दुई सेट (प्रति सेट दुई हजार पाँच सय रुपैयाँ) पीपीई किन्न लगाउने गरिएको नमिताले बताइन् । विरोध गर्नेलाई किन्न लगाइँदैन । नत्र दिनको एक सेट भए पनि किनिदिनै पर्ने उनको भनाइ छ ।

संक्रमितको उपचारमा भइरहेको नाजायज असुलीविरुद्ध आफू संक्रमणमुक्त भएपछि कानुनी लडाँइमा जाने उनले बताइन् । उनले भनिन्, ‘संक्रमित नागरिकमाथि ठूलो अन्याय भएकाले अब न्याय चाहियो सरकारभन्दै जाने तयारीमा छु । कमाउ धन्दाविरुद्ध प्रशासन, स्थानीय सरकार, प्रदेश र संघीय सरकारसम्म पुग्छु ।’
नमिताले संक्रमितको उपचार गर्दा के मा शुल्क लाग्छ र के मा लाग्दैनभन्ने सूचना अस्पतालले सार्वजनिक नगर्ने गरेको बताइन् । उनका अनुसार निःशुल्कभन्ने सुनेर अन्योलग्रस्त अवस्थामा अस्पतालको भर पर्ने संक्रमित बिल आइसकेपछि भने ठूलो तनावमा पर्ने गरेका छन् । ‘उपचारमा लाग्ने शुल्कका बारेमा भर्ना हुनुअघि नै थाहा पाउने सबै बिरामीको अधिकार हो । तर त्यो कुरा सूचना होडिङ बोर्डमार्फत वा सार्वजनिक सूचनामार्फ बाहिर ल्याइएकै हुँदैन,’ उनले भनिन्, ‘अपारदर्शी रुपमा भित्रभित्रै पैसा उठाएर जनताको स्वास्थ्यको अधिकारमा खेलवाड गरिएको छ । देखिँदा औषधि मात्रै दिएको देखिन्छ । तर पछि बिल ढाड भाँचिने गरी आउँछ ।’

‘कोरोनाले पटक–पटक मर्दै र बाँच्दै गरेको मलाई अस्पतालले बारम्बार तड्पाएर छाडिदियो,’ नमिताले भनिन्, ‘बिल प्राप्त गरेपछि एकैछिन पनि बस्नै मन नलागेपछि अस्पतालबाट फर्किएँ ।’ संक्रमितका पीडा बाहिर आउँदा पनि अनुगमन र कारबाही नहुँदा अस्पतालले उपचारका नाममा झन् मनपरी गरिरहेको नमिताको भनाइ छ । ‘उपचार नपाएर संक्रमित तड्पिइरहेका छन् । मृत्युवरण गरिरहेका छन्,’ उनले भनिन्, ‘बल्लबल्ल अस्पताल पुग्नेलाई बचाउनतिर लाग्नुभन्दा पनि भर्ना भएका दिनदेखि तड्पाउन सुरु हुन्छ । डिस्चार्ज हुँदासम्म सबै चुसेर पठाइन्छ । अन्तिममा उपचार सफल भयो भनेर धन्यवाद दिनुपर्ने बेला भारी मन बनाउँदै नमिठो मानेर फर्कनुपर्ने अवस्था छ ।’

रुद्र र नमिताजस्ता जथाभावि र नियमविपरीत असुली गरिरहेका धेरै संक्रमित नोबेलमै उपचाररत अवस्थामा छन् । उपचारमै लापरबाही हुने हो कि भनेर उनीहरु अस्पतालको बेडबाट केही बोल्न सक्दैनन् ।
अस्पतालका प्रबन्धक नारायण दाहालले औषधिजस्तै भएकाले संक्रमिलाई दैनिक दुई सेट पीपीई किन्न लगाउने गरिएको बताउँछन् । ‘सरकारले दिएको रकमले उपचार गर्न पुग्दैन,’ उनले भने, ‘कोभिडबाहेकको औषधि र पीपीई किन्न लगाउनुपर्ने बाध्यता भए पनि अरु सबै निःशुल्क छ ।’ उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीलाई हेर्न कोभिड वार्डमा छिर्ने आफन्तले प्रयोग गर्ने पीपीई संक्रमितलाई नै किन्न लगाउने गरिएको दाहालले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमितमाथि विभिन्न बहानामा पैसा लिइरहेको अस्पताललाई कारबाहीको दायरामा ल्याउन प्रक्रिया अघि बढाइसकिएको बताए । ‘सरकारसँग निःशुल्कको सम्झौता गरेर संक्रमितसँग असुल्न पाइँदैन । तर अवैध बाटो प्रयोग गरेर पैसा लिइरहेको गुनासो आएको छ,’ प्रजिअ निरौलाले भने, ‘यसका बारेमा अस्पतालसँग सोधपुछ भइरहेको छ । बिरामीलाई जतिसक्दो सहयोग गर्नुपर्ने बेला बद्मासी गर्ने अस्पताललाई कारबाही हुन्छ ।’

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३