प्रकाशित : १९ चैत्र २०७७, बिहीबार ०७:४८

विराटनगर, १८ चैत । प्रदेश १ मा भारतसँग खुला सीमा जोडिएका तराईका जिल्लामध्ये सुनसरीबाट मानव तस्करी एवं ओसारपसारका घटना धेरै हुने गरेको पाइएको छ ।

प्रहरीले उपलब्ध गराएको चालु आर्थिक वर्षको अहिलेसम्मको अभिलेख अनुसार सुनसरीका विभिन्न नाकाको प्रयोग गरेर मानव तस्करी एवं बेचबिखनका घटना धेरै भएका हुन् । चालु आर्थिक वर्ष २०७७÷०७८ को हालसम्म प्रदेश १ मा १४ वटा यस्ता घटना भएका छन् । घटनामा १९ महिला पीडित बनेका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार सुनसरीबाट नौ, मोरङबाट सात र झापाबाट तीन जना महिलालाई भारत पुर्याउने प्रयास भएका छन् ।

१४ घटनामा ३१ पुरुष र सात महिला गरेर ३८ जनाको संलग्नता पुष्टि भएको उहाँको भनाइ छ । ती मध्ये २७ पुरुष र छ जनालाई पक्राउ गरेर प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइएको छ । घटनामा संलग्नमध्ये फरार रहेका चार पुरुष र एक महिलाको खोजी जारी राखिएको श्रेष्ठले बताउनु भयो ।

मानव बेचबिखन एवं तस्करीमा संलग्न गिरोहले आर्थिक अपार्जन गर्न सकिने लगायतका लोभ देखाउँदै नेपाली महिलालाई भारततिर लैजाने गरेको विभिन्न घटनाबाट पुष्टि भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बताउनु भयो । राम्रो जागिरमा लगाइदिने, घुरफिर गराउने, बिहे गर्ने, धेरै पैसा कमाइ हुने काममा लगाइदिने लगायतका विभिन्न खाले प्रलोभन देखाएर महिलालाई भारत र तेस्रो मुलुकसम्म लैजाने गरिएको उहाँको भनाइ छ । मानव तस्करी एवं बेचबिखन नियन्त्रण गर्न अन्य सुरक्षा निकाय र संघसंस्थाको समन्वय एवं सहकार्यमा प्रहरीले सीमा नाकामा कडाई गरिरहेको कार्कीले बताउनु भयो ।

सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गर्दै मानव ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालका अनुसार मानव तस्करी रोक्न सशस्त्रको उपस्थिति बढाउँदै नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएर उच्च सतर्कता अपनाइएको छ । अन्य सुरक्षा निकाय र सर्वसाधारणसँग समन्वय गर्दै मानव बेचबिखन तथा मानव तस्करीजस्ता मानवताविरुद्धका अन्तरदेशीय अपराध नियन्त्रणमा सशस्त्र सक्रिय रहेको जानकारी डीआईजी दाहालले दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३