प्रकाशित : २ माघ २०७७, शुक्रबार १८:१८

विराटनगर, २ माघ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा संसदीय व्यवस्था र संविधान असफल भइसकेको बताउनु भएको छ । मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको संसद विघटन, अमेरिकी संसदमा भएको आक्रमण लगायतका घटनाको उदाहरण दिँदै संविधान र संसदीय व्यवस्था ‘फेल’ भइसकेको बताउनु भएको हो ।

वैद्यले विश्वमै संसदीय व्यवस्था असफल हुँदै गइरहेको जिकिर गर्नु भयो । उहाँले संसद (प्रतिनिधिसभा) पुर्नस्थापना जनताको अहितमा हुने पनि बताउनु भयो । पुर्नस्थापना अहिलेको आवश्यकता नभएकोभन्दै वैद्यले मुलुकका लागि संसदीय व्यवस्था, संविधान र अहिलेको राजनीतिक प्रणाली घातक भएको टिप्पणी गर्नु भयो । संसद पुर्नस्थापना जनतालाई धोका दिने विषय मात्रै भएको वैद्यको तर्क छ ।

पुर्नस्थापित संसदले जनताको आकांक्षालाई पूरा नगर्ने र जनजीविकालाई सम्बोधन नगर्ने उहाँको विचार छ । उहाँले आफूहरु सधैं संसदीय प्रणालीको विरोधमा रहेको पनि दोहोर्याउनु भयो । वैद्यले घोषित आमनिर्वाचन पनि जनताको पक्षमा नहुने बताए । ‘तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने कुरामै अन्योल छ,’ उहाँले भन्नु भयो, ‘यदि भइहाल्यो भने जनताको हितमा हुने गरी नतिजा आउँदैन ।’ निर्वाचनबाट उल्टै फाँसीवादी चरित्रको उदय हुने भएकाले सबै सचेत बन्नुपर्नेमा वैद्यको जोड छ । संसदीय व्यवस्था र घिनलाग्दो राजनीति छाडेर जनगणतन्त्रको बाटोमा अघि बढ्नका लागि सबैमा उहाँले आग्रह गर्नु भयो ।

जनगणतन्त्रका लागि संसदीय परिपाटीमा अल्झिएका दलबाहेकका शक्तिसँग मिलेर अगाडि बढ्ने आफूहरुको योजना रहेको उहाँले स्पष्ट पार्नु भयो । नेता वैद्यले साना र क्रान्तिकारी शक्तिसँग कार्यगत एवं पार्टीगत एकता तथा तालमेल गरेर अघि बढ्ने योजनामा आफूहरुको रहेको सुनाउनु भयो । असहमति रहेका विषयमा सहमति जुटेमा नेत्रविक्रम चन्द ‘विप्लव’सँग पनि पार्टी एकता हुने उहाँको भनाइ छ । पार्टीभित्र पद, प्रतिष्ठा र अहमताको लडाइँका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटनसम्म पुग्नुपर्ने अवस्था सिर्जना भएको वैद्यले बताउनु भयो । जनजीविका, जनगणतन्त्र र कम्युनिष्टको साम्यवादमा पुग्ने लक्ष्य एवं सिद्धान्त विपरीत कम्युनिष्टको नाम बेचेर नेताहरु पदको लोभमा फसेको उहाँको आरोप छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३