प्रकाशित : १२ मंसिर २०७७, शुक्रबार १७:१२

विराटनगर, १२ मंसिर । मोरङको रतुवामाई नगरपालिका घर भएकी १७ दिन सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । गएराति ११ बजेतिर रतुवामाई–१० की २५ वर्षीया सुत्केरी महिलाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

उपचारका क्रममा मृगौला र निमोनियाको पुरानै समस्या देखिएकी मृतक १७ दिनकी सुत्केरी रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनु भयो । श्वास फेर्न गाह्रो भएपछि र बोली बन्द भएपछि मंसिर १० गते बुधबार उनलाई उपचारका लागि परिवारका सदस्यले नोबेलमा भर्ना गरेका थिए । दाहालका अनुसार गम्भीर अवस्थामा भर्ना गरिएकी महिलालाई तत्काल आइसोलेसनमा भर्ना गरेर भेन्टिलेटरमा राख्दै उपचार थालिए पनि भोलिपल्टै ज्यान गएको हो ।

प्रसूति व्यथाले च्यापेपछि झापाको दमकस्थित आम्दा अस्पताल भर्ना गरिएकी महिलाको कात्तिक २५ गते शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत छोरी जन्माएपछि स्वास्थ्य अवस्था राम्रो रहेकोभन्दै उनलाई अस्पतालले डिस्चार्ज दिएर घर पठायो । त्यसको चार दिनपछि श्वासप्रश्वासमा समस्या देखिएका कारण उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको मृतककी दिदीको भनाइ छ ।

विराटको आईसीयूमा भर्ना गरेर कात्तिक ३० गते पीसीआर परीक्षण गराउँदा पहिलो रिपोर्ट नेगेटिभ आएको थियो । सबै लक्षण कोरोनासँग मिल्दोजुल्दो रहे पनि रिपोर्ट नेगेटिभ आएको भनेर शंका व्यक्त गर्दै चिकित्सकले पहिलो रिपोर्ट प्राप्त भएको १२ घण्टाभित्रै दोस्रो पटक पीसीआर परीक्षण गर्न लगाएका थिए । दोस्रो रिपोर्ट भने पोजिटिभ आएको मृतककी दिदीले बताइन् । त्यहाँबाट पाँच दिनसम्म आईसीयूमा भर्ना गरेर उपचार गराएपछि स्वास्थ्य अवस्थामा केही सुधार भएपछि होम आइसोलेसनमा राख्ने गरी घर लगेको जानकारी उनले दिइन् ।

स्वास्थ्यमा सुधार हुँदै गएर अवस्था सामान्य बनेका कारण चिकित्सकसँग सल्लाह गर्दै घरमा होम आइसोलेसनमा राख्ने गरी लगिएको उनको भनाइ छ । तर त्यसको केही दिनपछि क्रमस स्वास्थ्य अवस्था बिग्रदै गयो । सुरुमा श्वासप्रश्वासको समस्या देखिएकी बहिनीको बोली नै बन्द भएपछि उपचारका लागि नोबेलमा बुधबार भर्ना गरिएको दिदीको भनाइ छ । कोरोनाको उपचार गर्नुपर्नेभन्दै आइसोलेसनमा भर्ना गरिएकी बहिनी जीवित नरहँदा परिवारका सदस्य र आफन्त सबै पीडामा रहेको उनले सुनाइन् ।

उपचारमा लापरबाही गरेर सुत्केरीको मृत्यु भएपछि अस्पतालले विभिन्न बहाना बनाएर मृत्युको कारण कोरोना देखाउने प्रयास गरेको आरोप परिवारको छ । मृतककी दिदीले बहिनीको मृत्यु भएको पीडासँगै भर्खर जन्मिकी बच्चीलाई कसरी हुर्काउनेभन्ने अर्को चिन्ता थपिएको पनि सुनाइन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३